May 10, 2023
अर्थमन्त्री समक्ष महासंघको बजेट सुझाव पेश: आगामी बजेटलाई आर्थिक सुधारको प्रस्थान विन्दू बनाउनु पर्ने - अध्यक्ष ढकाल (२०८०/०१/२७)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट एवं आर्थिक ऐनका सम्बन्धमा निजी क्षेत्रका सुझाव पेस गरिएको छ ।



महासंघद्वारा वैशाख २७ गते काठमाडौंमा बजेट अन्तरक्रियाको आयोजना गरी अर्थमन्त्री समक्ष सो सुझाव पेश गरिएको हो । सो अवसरमा अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री समक्ष महासंघको सुझाव पेस गर्नु भयो । 

महासंघले आफ्ना सबै सदस्यहरूबाट सुझाव संकलन गरी बजेट सुझाव तयार गरेको हो । कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति अम्विका प्रसाद पौडेलले महासंघको सुझाव प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा उद्योग सचिव, अर्थ मन्त्रालय अन्तरगतका विभागिय प्रमुखहरू, महासंघका पदाधिकारीहरू, समिति सभापतिहरू, महासंघका सदस्य संघ संस्थाका पदाधिकारीहरू, उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो ।



कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि अर्थमन्त्री महतले महासंघले दिएका सुझावलाई राम्रोसंग अध्ययन गरी वजेटमा सक्दो समावेश गर्ने प्रतिवद्धता जनाउनु भयो । 

अर्थतन्त्रमा देखिएका समस्यालाई बजेटमार्फत संवोधन गर्ने आफ्नो शतत प्रयास हुने बताउनु भयो । उहाँले निजी क्षेत्रलाई विस्तार गर्न आवश्यक लगानी र सहजीकरण गर्ने पनि धारणा राख्नु भयो । अर्थमन्त्रीले आगामी बजेटमार्फत अर्थतन्त्रमा देखापरेका समस्यालाई मिहिनसाथ केलाएर समाधान गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । 

अर्थमन्त्रीले वित्तिय र मौद्रिक नीतिमार्फत आर्थिक क्षेत्रले भोगिरहेको समस्या समाधान गर्ने विश्वास पनि दिलाउनु भयो । निजी क्षेत्रको लगानीलाई विस्तार गर्न आवश्यक वातावरण वनाउने र आवश्यक सहजीकरण गरिने उहाँको भनाई थियो । 

निजी क्षेत्रले सेवामा पाइरहेको झन्झट अन्त्य गर्नेमा पनि उहाँको प्रतिवद्धता थियो । निजी क्षेत्रमैत्री वातावरण बनाउन हामी तयार छौं, राज्य र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्ने हो । जहाँ समस्या छ त्यसलाई फुकाउन मेरो सम्पूर्ण प्रयास हुने छ, अर्थमन्त्रीले बताउनु भयो ।



त्यसअघि कार्यक्रममा महासंघका अध्यक्ष ढकालले स्वागत मन्तव्य राख्नुभयो । 

अब पनि छलांग लगाउन नसके मुलुक धेरै पछाडि पर्ने भन्दै अध्यक्ष ढकालले आगामी आर्थिक बर्षको बजेटलाई सुधारको प्रस्थानविन्दु बनाउनुपर्नेमा जोड दिनु भयो । 



कार्यक्रमको अन्त्यमा समापन मन्तव्य राख्नुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले वित्त नीति र मौद्रिक नीति बीच तादाम्यता गरेर लैजाने विश्वास बजेटले दिलाउनु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा महासंघका उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति रहेको सो अन्तरक्रियामा महासंघका सदस्य संघ संस्थाका पदाधिकारीहरुले आ-आफ्ना क्षेत्रका समस्या एव सुझावहरु अर्थमन्त्री समक्ष राख्नु भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by