Nov 04, 2026
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले नेपालमा स्टार्टअप उद्यम सुरु गर्ने प्रवृत्ति बढे पनि त्यसलाई नवप्रवर्तन (इन्नोभेसन) सँग जोड्न नसकिएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार, सुदूरपश्चिम विश्वविद्यालय र नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न संस्थाको संयुक्त आयोजनामा कैलाली बहुमुखी क्याम्पस, धनगढीमा आयोजित ‘सुदूरपश्चिम स्टार्टअप सम्मेलन २०८३’ अन्तर्गत ‘काठमाडौँबाहिर प्रतिस्पर्धी उद्यम’ विषयक विशेष प्यानल सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले यस्तो धारणा राख्नुभएको हो । उहाँले उद्यमशीलताको विकासका लागि नवप्रवर्तनको संस्कृति र अभ्यास संस्थागत गर्न आवश्यक रहेको बताउनुभयो । “हामी सबैले स्टार्टअप गरिरहेका छौँ, तर त्यसलाई इन्नोभेट गर्न सकिरहेका छैनौँ। हामीमा नवप्रवर्तनको परिपाटी नै बसिसकेको छैन,” उहाँले भन्नुभयो । आफ्नै क्षेत्रको सम्भावना पहिचान गरी त्यसैका आधारमा उद्यम विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले काठमाडौँ वा विदेशको अन्धाधुन्ध सिको गर्ने प्रवृत्तिबाट माथि उठ्नुपर्ने बताउनुभयो ।
उहाँले सुदूरपश्चिम प्रदेशमा उपलब्ध जलस्रोत, कृषि, जडीबुटी तथा पर्यटनका सम्भावनालाई आधुनिक प्रविधिसँग जोडेर उच्च मूल्य अभिवृद्धि भएका वस्तु तथा सेवा उत्पादन गर्न सके स्थानीय उद्यमले प्रतिस्पर्धात्मक लाभ हासिल गर्न सक्ने धारणा राख्नुभयो। संघीयताको वास्तविक सफलता र मुलुकको सन्तुलित आर्थिक विकासका लागि काठमाडौँबाहिर पनि प्रतिस्पर्धी तथा उत्पादनमूलक उद्यम स्थापना र विस्तार हुनुपर्ने उहाँको भनाइ थियो ।
उपाध्यक्ष पाण्डेले काठमाडौँबाहिर प्रतिस्पर्धी उद्योग तथा व्यवसाय विकासका लागि बजार पहुँच, पूर्वाधार, दक्ष जनशक्ति, लगानी, नीतिगत सहजीकरण र प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
डिजिटल युगमा भूगोल बजार विस्तारको बाधक बन्न नसक्ने उल्लेख गर्दै उहाँले इ–कमर्स, डिजिटल मार्केटिङ तथा प्रभावकारी यातायात पूर्वाधारमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
रोजगारदाता परिषद्का सभापतिको हैसियतले उहाँले दक्ष जनशक्ति, उद्यमशील सोच, लगनशीलता र निरन्तर सिकाइलाई प्रतिस्पर्धी उद्यमका आधारका रूपमा प्रस्तुत गर्नुभयो । विश्वविद्यालयहरू प्रमाणपत्र प्रदान गर्ने शैक्षिक संस्थामा मात्र सीमित नभई स्थानीय उद्योग तथा व्यवसायको आवश्यकता अनुरूप प्राविधिक सीप, अनुसन्धान, नवप्रवर्तन र मेन्टरसिप प्रदान गर्ने केन्द्रका रूपमा विकास हुनुपर्ने उहाँको धारणा थियो ।
त्यसैगरी, मोफसलमा उद्यम विकासका लागि पूँजीको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका लगानीकर्ता र अन्य सरोकारवालाबीच सहकार्य गरी सहज व्यावसायिक कर्जा, एन्जल इन्भेस्टमेन्ट र बिउ पूँजी (सिड क्यापिटल) उपलब्ध गराउने प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
उद्यमको प्रारम्भिक लागत घटाउन स्थानीय तथा प्रदेश सरकारले कर छुट, जग्गा प्राप्तिमा सहजीकरण, सस्तो विद्युत् तथा अन्य लगानीमैत्री नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले निजी क्षेत्रको लगानी र उद्यमशीलता प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
सुदूरपश्चिमको रणनीतिक भौगोलिक अवस्थालाई आर्थिक अवसरमा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले भन्सार प्रक्रियाको सरलीकरण, सुख्खा बन्दरगाहको प्रभावकारी उपयोग तथा सीमापार आर्थिक करिडोरको विकासमा जोड दिनुभयो । यसबाट विशेषगरी भारतीय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार गर्न सकिने उहाँको भनाइ थियो।
स्थानीय स्रोत, सीप, प्रविधि र पूँजीको समुचित संयोजनबाट मात्रै काठमाडौँबाहिर दिगो तथा प्रतिस्पर्धी उद्यम विकास सम्भव हुने उल्लेख गर्दै उहाँले सुदूरपश्चिमलगायत देशका सबै प्रदेशमा उद्यमशीलताको नयाँ वातावरण निर्माण गर्न सरकार, विश्वविद्यालय र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो ।