Oct 15, 2026
महासंघको प्रतिनिधिमण्डलद्वारा पूर्वाधार विकासमन्त्री लम्सालसँग भेट - नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणमा महासंघको जोड (२०८३/०६/२९)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी निजी क्षेत्रले भोगिरहेका समस्या, नीतिगत सुधार र अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा छलफल गरेको छ ।

सिंहदरबार स्थित पूर्वाधार विकास मन्त्रालयमा भएको क्रममा महासंघका अध्यक्ष श्रेष्ठले मुलुकमा लगानीको वातावरण निर्माण, व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक कठिनाइको समाधान, बाढीपहिरोपछि प्रभावित आर्थिक गतिविधिको पुनरुत्थान र निर्यात प्रवद्र्धनका लागि सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राख्नुभयो ।

भेटमा मन्त्री सुनिल लम्सालले महासंघले उठाएका विषयप्रति सकारात्मक प्रतिक्रिया दिँदै आर्थिक विकास, समृद्धि र व्यवसायमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधार लगायतका काम भइरहेको बताउनुभयो । 

निजी क्षेत्रले भोगिरहेका समस्या र सुधार गर्नुपर्ने विषयलाई स्पष्ट रूपमा सरकारसमक्ष राख्न आग्रह गर्दै उहाँले आर्थिक गतिविधि विस्तारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । “निजी क्षेत्रका समस्याहरु के के छन् । के कस्ता कानूनी सुधार गर्दा देशमा आर्थिक गतिविधी बढ्छ । रोजगारी सिर्जना हुन्छ । अर्थतन्त्र चलायमान हुन्छ । सरकार त्यो गर्न तयार छ । ती समस्या निजी क्षेत्रले खुलस्त राखोस । ” उहाँले भन्नु भयो । मन्त्री लम्सालले स्थानीय उद्योगहरुको प्रवद्र्धन तथा दीगो सञ्चालनका लागि तत्पर रहेको समेत बताउनु भयो । 

अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय सञ्चालनमा देखिएका समस्याको समाधान, लगानीमैत्री नीति तथा कानुनी व्यवस्था, पूर्वाधार विकास र निजी क्षेत्रको मनोबल अभिवृद्धिमा सरकारको ध्यानाकर्षण गराउनुभयो । “सरकार सबैको अभिभावक हो । निजी क्षेत्र उत्पादन र उत्पादकत्व वृद्धि, निर्यात विस्तार तथा रोजगारी सिर्जनामार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सधैं तयार छ । यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक छ । ” उहाँले भन्नु भयो । अध्यक्ष श्रेष्ठले उद्योगी–व्यवसायीले भोगिरहेका नीतिगत, प्रशासनिक तथा व्यावहारिक समस्याको पहिचान गरी समाधान गर्न र लगानी विस्तारमा देखिएका अवरोध हटाउन सरकारसँग आग्रह गर्नुभयो । 

बाढीपहिरोजस्ता प्राकृतिक विपद्पछि प्रभावित उद्योग, व्यवसाय, आपूर्ति प्रणाली तथा पूर्वाधारको पुनःस्थापना गर्दै आर्थिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहजीकरण गर्नुपर्ने विषयमा पनि महासंघले जोड दिएको थियो । 

महासंघले निजी क्षेत्रका समस्या र सुझावलाई सरकारसमक्ष निरन्तर प्रस्तुत गर्दै नीतिगत सुधार, लगानी प्रवद्र्धन, उद्योग व्यवसायको विकास तथा समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि पहल गर्दै आएको छ ।
 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image