Nov 19, 2026
सीप तथा रोजगार मेला सञ्चालनका लागि महासंघ र मन्त्रालयबीच सम्झौता - महासंघको नेतृत्वमा छ वटा प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन हुने (२०८३/०८/०३)


नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा छ वटा प्रदेशमा ‘सीप तथा रोजगार मेला, २०८३’ सञ्चालन हुने भएको छ । 

रोजगार खोजकर्ता र रोजगारदाताबीच प्रत्यक्ष सम्पर्क स्थापित गरी रोजगारीको अवसर सिर्जना गर्ने तथा उद्योग व्यवसायको वास्तविक जनशक्ति आवश्यकताअनुसार दक्ष जनशक्ति विकास गर्ने उद्देश्यले रोजगार मेला सञ्चालन गर्न लागिएको हो ।

बिहिबार मन्त्रालयमा युवा, श्रम तथा रोजगार मन्त्रि रामजी यादव, मन्त्रालयका सचिव डा.दिपक काफ्ले तथा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको रोहवरमा सो सम्बनिध सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा मन्त्रालयको तर्फबाट सहसचिव तथा युवा महाशाखा प्रमुख हेमराज तामाङ र महासंघ तर्फबाट महासंघका उपाध्यक्ष तथा रोजगार परिषद्का उपाध्यक्ष प्रबलजंग पाण्डेले हस्ताक्षर गर्नु भएको छ ।  

सम्झौतापत्र अनुसार मन्त्रालयले मेलाको नीतिगत नेतृत्व, सरकारी निकायसँगको समन्वय, सहजीकरण तथा रोजगारसम्बन्धी डिजिटल प्रणाली सञ्चालन गर्नेछ भने महासंघले मेलाको समग्र व्यवस्थापन, सञ्चालन तथा कार्यान्वयनको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गर्नेछ । यसका लागि महासंघले आवश्यक सचिवालय स्थापना गरी रोजगारदाता परिचालन, भौतिक तथा प्राविधिक पूर्वाधार, कार्यक्रम व्यवस्थापन र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्नेछ । 

नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि २०९२/०९३ सम्मको अवधिलाई रोजगार प्रबर्धन दशकका रूपमा अघि बढाएको सन्दर्भमा आन्तरिक रोजगारीका अवसर विस्तार गर्नु, श्रम बजारको मागअनुसार दक्ष जनशक्ति विकास गर्नु र सीपयुक्त जनशक्तिलाई रोजगारीमा आबद्ध गराउने मुख्य उद्देश्य रहेको महासंघका उपाध्यक्ष  तथा रोजगार परिषद्का सभापति प्रबलजंग पाण्डेले जानकारी दिनुभयो । 

मेलामा उद्योग, व्यवसाय तथा प्रतिष्ठानका रोजगारदातालाई सहभागी गराई उनीहरूका वास्तविक रिक्त पद र आवश्यक जनशक्तिको विवरण संकलन गरिनेछ । रोजगारदाताले उपलब्ध गराएका रिक्त पदका आधारमा रोजगार खोजकर्ताबाट आवेदन संकलन गरी मेलास्थलमै प्रत्यक्ष अन्तर्वार्ता, प्रारम्भिक छनोट तथा रोजगार मिलानको व्यवस्था गरिनेछ । 

त्यसैगरी, रोजगारदाताको माग र श्रम बजारको आवश्यकताका आधारमा प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निकायको नेतृत्वमा प्रत्येक प्रदेशमा विभिन्न विधामा १० वटा तालिम सञ्चालन गरिनेछ । यसलाई दीगो रुपमा सञ्चालन गर्न महास.घले थप सहकार्य गर्ने छ भने तालिमका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापकीय सहयोग महासंघले उपलब्ध गराउनेछ ।

मेलालाई व्यवस्थित बनाउन मन्त्रालयले https://jobfair.shramsansar.gov.np प्रणाली सञ्चालनमा ल्याउनेछ । 

मेलामा सिर्जना भएका रोजगारीका अवसरलाई कार्यक्रम सम्पन्न भएपछि पनि निरन्तरता दिइनेछ । यसका लागि महासंघ, मन्त्रालय, श्रम तथा रोजगार कार्यालय, स्थानीय तहका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र र रोजगारदाताबीच समन्वय गरिनेछ ।

प्रदेश सरकार, स्थानीय तह, उद्योग वाणिज्य संघ, निजी क्षेत्र, तालिम प्रदायक संस्था तथा विकास साझेदारको सहभागिता र सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ । सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सीपयुक्त जनशक्तिको विकास, आन्तरिक रोजगारी प्रवर्द्धन तथा उद्योग व्यवसायको जनशक्ति आवश्यकता सम्बोधन गर्न मेला महत्वपूर्ण हुने विश्वास महासंघले लिएको छ ।


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image