Nov 04, 2026
नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय सदस्य एवं स्टार्टअप एण्ड इनोभेसन समितिकी सभापति सहारा जोशीले नेपालको स्टार्टअप इकोसिस्टमलाई काठमाडौं केन्द्रित सोचबाट मुक्त गरी सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
कैलाली बहुमुखी क्याम्पसमा आयोजित सुदूरपश्चिम स्टार्टअप सम्मेलन २०८३ अन्तर्गतको प्यानल छलफलमा बोल्दै उहाँले नेपालमा उद्यमशील प्रतिभाको कमी नभई अवसर, पहुँच, लगानी र नेटवर्कको अभाव रहेको बताउनुभयो। स्टार्टअप विकासलाई तालिम र कार्यक्रमहरूमा मात्र सीमित नगरी सफल उद्यमी उत्पादनसँग जोड्नुपर्ने उहाँको भनाइ थियो ।
मोफसलका स्टार्टअप विकासका प्रमुख बाधकका रूपमा विनाधितो ऋण उपलब्ध गराउन बैंकहरूले देखाउने हिचकिचाहट र व्यवसाय दर्ता तथा कर प्रक्रियामा रहेका प्रशासनिक झन्झट औंल्याउँदै उहाँले महासंघले डिजिटल तथा झन्झटमुक्त एकल विन्दु सेवा केन्द्र कार्यान्वयनका लागि पैरवी गरिरहेको जानकारी दिनुभयो।
‘एक स्थापित व्यवसायी, एक युवा उद्यमी’ अवधारणालाई प्रभावकारी बनाउन महासंघले सुदूरपश्चिममा मेन्टरसिप फोरम गठन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । यसबाट नयाँ उद्यमीलाई व्यावसायिक मार्गदर्शन उपलब्ध गराउनुका साथै ठूला उद्योग तथा होटलहरूले स्थानीय स्टार्टअपका उत्पादनलाई प्राथमिकता दिएर प्रदेशभित्रै बलियो आपूर्ति शृङ्खला निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
आइडियादेखि लगानीसम्मको यात्रा सहज बनाउन लगानी, सहकार्य र बजार पहुँचको व्यवस्थित इकोसिस्टम आवश्यक रहेको उल्लेख गर्दै उहाँले महासंघले उद्यमी, बैंक, सरकार र शैक्षिक संस्थाबीच संस्थागत पुलको भूमिका निर्वाह गर्ने बताउनुभयो। महासंघले सुदूरपश्चिमबाट सुरु भएको अभियानलाई अन्य प्रदेशमा समेत विस्तार गर्ने र महिला नेतृत्वका स्टार्टअपलाई विशेष प्राथमिकता दिने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “नेपालको स्टार्टअप इकोसिस्टमलाई काठमाडौंमा कति स्टार्टअप छन् भनेर होइन, सातै प्रदेशमा कति सफल उद्यमी उत्पादन गर्न सक्यौँ भनेर मापन गर्नुपर्छ। प्रतिभा स्थानीय हुन सक्छ, तर अवसर राष्ट्रिय हुनुपर्छ । ”छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष आयुष हमाल तथा नाटा प्रतिनिधि माया प्रकाश भट्टलगायतको सहभागिता रहेको थियो ।