Oct 09, 2026
विभिन्न वस्तुगत संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु सम्मानित (२०८३/०६/२४)

नेपाल उद्योग वाणिज्य महासंघले महासंघ अन्तर्गतका विभिन्न वस्तुगत संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघले सम्मान गरेको छ । महासंघमा आयोजित एक कार्यक्रमबीच महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नवनिर्वाचित सभापति तथा पदाधिकारीहरूलाई सम्मान गर्नुभएको हो । 

यसरी सम्मानित हुनमा नेपाल शैक्षिक परामर्श संघ, नेपाल विद्युतीय व्यवसायी महासंघ, नाडा अटो मोबाइल एशोसिएसन अफ नेपाल, नेपाल कुचो संघ, नेपाल दाना उदोग संघ, नेपाल ह्याचरी उद्योग संघ र नेपाल सौर्य विद्युत उत्पादक संघका पदाधिकारीहरु रहेका छन् । 

कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै आफ्नो क्षेत्रका उद्योगी–व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि महासंघसँग सहकार्य गर्न आग्रह गर्नुभयो। उहाँले वस्तुगत समितिहरूको सक्रियता र प्रभावकारिताले महासंघको समग्र संस्थागत भूमिकालाई थप बलियो बनाउने बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले पछिल्लो समय विभिन्न चुनौतीको सामना गरिरहेको अवस्थामा वस्तुगत समितिहरूले आफ्ना क्षेत्रका समस्या तथ्यपरक रूपमा उठान गर्दै नीति निर्माण तहसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले महासंघ निजी क्षेत्रका साझा समस्या समाधान तथा व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्यमा रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र कोषाध्यक्ष मनिषलाल प्रधानले नवनिर्वाचित समितिका सभापति तथा पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आ–आफ्नो क्षेत्रको विकास र निजी क्षेत्रका साझा मुद्दा सम्बोधनका लागि सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

महासंघका वस्तुगत परिषद्का सभापति नरेशलाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले वस्तुगत समितिहरू महासंघ र निजी क्षेत्रबीचको महत्वपूर्ण सेतुका रूपमा रहेको उल्लेख गर्दै सम्बन्धित क्षेत्रका समस्या, सम्भावना र नीतिगत विषयलाई महासंघमार्फत प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

सम्मानित नवनिर्वाचित पदाधिकारीहरूले महासंघको उद्देश्य र निजी क्षेत्रका साझा हितलाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image