Apr 13, 2023
५७ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस–२०७९ समुदघाटनः महासंघका सदस्य संघ/संस्थाका पदाधिकारीहरूको मर्यादाक्रम सरकारले निर्धारण गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता (२०७९/१२/२९)

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधार सभा एवं उद्योग वाणिज्य दिवस–२०७९ को चैत्र २८ गते एक विशेष समारोहका बीच काठमाडौंमा समुदघाटन गर्नुभयो । 

वार्षिक साधारण सभामा देशैभरबाट आएका उद्यमी व्यवसायीहरु सहभागी उक्त कार्यक्रमलाई संवोधन गर्नुहुंदै प्रधानमन्त्री प्रचण्डले महासंघका सदस्य संघ संस्थाका पदाधिकारीहरुको मर्यादाक्रम निर्धारण गर्ने कार्यमा सरकारले सहयोग गर्ने विश्वास दिलाउनु भयो । 

तपाईहरुले लामो समयदेखि राख्दै आउनु भएको मर्यादाक्रम निर्धारणको विषयलाई सरकारले संवोधन गर्छ प्रधानमन्त्री दाहालले विश्वास दिलाउनु भयो ।  

आफ्नो संवोधनका क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रले भोगेका समस्या समाधान गर्न सरकार केन्द्रीत भएको पनि बताउनु भयो । 



प्रधानमन्त्रीले भन्नुभयो–निजी क्षेत्रले भोगेका समस्या समाधान गर्न, बैंकको व्याजदर कम गर्ने, लगानीको स्थिति सुधार गर्नेतर्फ सरकारको छलफल बढी केन्द्रीत भएको स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्रीले अर्थतन्त्र गम्भीर संकटतर्फ जान्छ कि भन्ने आशंकका अव हट्दै गएको पनि बताउनु भयो । अर्थतन्त्र पूर्णत संकटमुक्त नभएपनि सुधारोन्मुख भएको धारणाले उहांले राख्नु भयो । 

अर्थतन्त्रमा अहिलेदेखिएका समस्या सबै पक्षसंग बसेर समाधान गर्न पनि छलफल भैरहेको उहांले थप प्रष्ट पार्नुभयो । प्रधानमन्त्रीले आफूले निजी क्षेत्रलाई सधै प्राथमिकतामा राखेर काम गर्ने गरेको आफ्नो हरेक कार्यकालमा महासंघको नेतृत्वलाई साथमा लिएर काम गरेको पनि स्मरण गर्नुभयो । 



सो अवसरमा प्रधानमन्त्री दाहालले महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई प्रसिडेन्ट अवार्डबाट सम्मानित गर्नुभयो । त्यसैगरी उहांले महासंघले प्रकाशन गरेका विभिन्न चार वटा प्रकाशनको विमोचन पनि गर्नुभयो । 



विमोचित प्रकाशनहरुमा The state of private sector Contributuion and Constraints १९ औं कार्यकालको प्रगती पुस्तक (संगठित सहकार्य), अभिनन्दन (जिल्ला संघहरुको विवरण), वस्तुुगतको वस्तुुस्थिति रहेका छन् । महासंघले विमाचित सवै प्रकाशनहरु आफ्नो वेभसाइटमा समेत राखेको छ । 

त्यसैगरी महासंघको वार्षिक साधारण सभाका अवसरमा राष्ट्रिय कर दिवस २०७९ बाट सम्मानित उत्कृष्ट करदाताहरुलाई प्रधानमन्त्रीबाट सम्मान गरियो । यसरी सम्मानित हुने करदाताहरुमा श्री शिव शक्ति घ्यू उद्योग प्रा.लि., नविल बैंक लिमिटेड, मनकामना दर्शन प्रा.लि., हंसराज हुलासचन्द एण्ड कं प्रा.लि. नेपाल धितोपत्र विनिमय बजार लि. आईएमई लिमिटेड,सूर्य नेपाल प्रा.लि.,गोर्खा ब्रुअरी प्रा.लि, नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रा.लि.र राजेश मेटल क्राफ्ट प्रा.लि. रहेका छन् । 



वार्षिक साधारण सभालाई संवोधन गर्नुहुंदै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा विद्यमान समस्या समाधानका लागि सरकारले अल्पकालिन र दीर्घकालिन योजना बनाई रहेको जानकारी राउनु भयो । 

अर्थमन्त्रीले अल्पकालमा पुंजीगत खर्च गर्ने क्षमता बढाउने र अनावश्यक साधारण खर्चलाई निर्ममतापूर्वक कम गर्ने सरकारको योजना रहेको पनि सो अवसरमा सुनाउनु भयो । समयमै  खर्च  गर्ने  पद्धतिलाई  राम्रो  बनाएर  बजार  पुंजी बढाउंदै अर्थतन्त्रलाई चलायमान बनाउने सरकारको रणनीति रहेको सो अवसरमा प्रस्ट पार्नुभयो । 



त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र चुनौतीपूर्ण रहेको अहिलेको अवस्थामा निजी क्षेत्रको साथ महत्वपूर्ण हुने बताउनुभयो । निजी क्षेत्रको सहयोगबिना मुलुकले आर्थिक समृद्धि पाउन नसक्ने पनि उहांले बताउनु भयो । 



त्यसअघि प्रारम्भमा स्वागत मन्तव्य राख्नु हुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले राज्य चलाउने रकम निजी क्षेत्र र सर्वसाधारणको उपक्रमबाट आउछ भन्ने बिषय राजनीतिक नेतृत्व, सांसदहरु र राष्ट्रसेवक कर्मचारीहरुले सधै वोध गरिरहनुपर्ने बताउनु भयो । 

समुद्घाटन समारोहमा महासंघका अध्यक्ष गोल्छाले प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डलाई मायाको चिनो प्रदान गर्नुभयो । त्यसैगरी अर्थमन्त्री डा. महत, उद्योग मन्त्री रिजाललाई सो पनि अवसरमा मायाको चिनो हस्तान्तरण गर्र्नुभयो ।

त्यस्तै अध्यक्ष गोल्छाले उहांको कार्यकालमा महासंघको श्रीवृद्धि र निजी क्षेत्रको प्रवद्र्धनमा निःस्वार्थ सेवा गर्नुहुने महासंघका पदाधिकारीहरू निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु क्रमशः दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनलाई मायाको चिनो प्रदान गर्नुभयो । 



समुद्घाटन सत्रमा धन्यवाद मन्तव्य राख्नुहुदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने, मुलुकभित्र रोजगारी सिर्जना गर्ने, लगानीको वातावरण वनाउने, नीतिगत सुधारमा काम गर्ने आफ्नो कार्यकालको मुख्य प्राथमिकता हुने उहांले स्पष्ट पार्नुभयो । 

समुद्घाटन समारोहमा नेपाल सरकारका मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर,डेपुटी गभर्नर, सचिव, नेपाल सरकारका विशिष्ट अधिकृतहरु, विकास साझेदारहरु, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ, गैह्र आवासीय नेपाली संघका अध्यक्षहरु, महासंघको प्रदेश च्याप्टरका अध्यक्षहरु, महासंघको कार्यकारिणी समितिका सदस्य, पूर्व पदाधिकारी, मुख्य प्रतिनिधि, अतिरिक्त प्रतिनिधि,सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानका पदाधिकारी एवं सदस्य, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

समुद्घाटन पश्चात महासंघको बन्द शत्र आयोजना भयो । बन्द शत्रमा महासंघका अध्यक्ष गोल्छाले संवोधन मन्तव्य राख्नु भयो । बन्द शत्रमा महासंघको वार्षिक प्रतिवेदन, आ.व. २०७९/८० को लेखा परीक्षण प्रतिवेदन, लेखा परिक्षकको नियुक्ति लगायतका एजेण्डा पारित भयो । 

तत्पश्चात महासंघका वरिष्ठ उपाध्यक्षका उमेदवार, उपाध्यक्षका उमेदवारहरुले आआफ्नो नीतिगत मन्तव्य राख्नु भयो । 

वार्षिक साधारण सभामा भाग लिन आउनु भएका मुख्य प्रतिनिधि, अतिरिक्त प्रतिनिधि,सदस्य संघ संस्था, उद्योग प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको सो अवसरमा वरिष्ठ उपाध्यक्षका उमेदवारहरु क्रमशः अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई आआफना योजना तथा कार्यक्रमहरु सुनाउनु भयो । 

त्यसैगरी उपाध्यक्षका उमेदवारहरु क्रमशः दिनेश श्रेष्ठ, सुरकृष्ण वैद्य, अरुणराज सुमार्गी, मनिषलाल प्रधान, हेमराज ढकाल, सुकुन्तलाल हिराचनले पनि नीतिगत मन्तव्यमा सहभागी भई आआफना योजना तथा कार्यक्रमहरु सुनाउनु भयो । 

तत्पश्चात साधारण सभामा भागलिन आउनु भएका मुख्य प्रतिनिधि, अतिरिक्त प्रतिनिधिहरुले आआफनो क्षेत्रमा रहेका समस्या, बैंक व्याजदर, तरलता संकट, मिस म्याच लगायतका विषयमा आआफनो धारणा राख्नु भएको थियो ।        

यसपटक महासंघको नयां नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले चैत्र २९ गते महासंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समिति सदस्य पदका लागि निर्वाचन सम्पन्न भयो । 

निर्वाचनको मतगणना चैत्र ३० गतेमात्र सम्पन्न भएको थियो । निर्वाचन पश्चात सोही दिन सांझ आयोजित समापन कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले निर्वाचित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समितिका सदस्यहरुको घोषणा गर्नुभएको थियो । 



निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध र उपाध्यक्षमा जिल्लानगर उद्योग वाणिज्य समूहबाट सुरकृष्ण श्रेष्ठ, वस्तुगत समुहबाट हेमराज ढकाल, एसोसिएट समूहबाट ज्योत्सना श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

सोही दिन साझ आयोजित निर्वाचन परिणाम घोषणा कार्यक्रममा अध्यक्ष गोल्छाले अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा हुनु भएका वरिष्ठ उपाध्यक्ष ढकाललाई अध्यक्ष पदको सपथ गराउनु भयो । तत्पश्चात अध्यक्ष गोल्छाले महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई अध्यक्षको पद हस्तान्तरण गर्नुभयो । उहांले महासंघको अध्यक्षको पीन वरिष्ठ उपाध्यक्ष ढकाललाई लगाई पद हस्तान्तरण गर्नुभएको हो 

सोही समारोहमा बोल्दै अध्यक्ष गोल्छाले महासंघको अवको कार्यकालको नेतृत्व सम्हाल्नु भएका अध्यक्ष ढकाललाई कार्यकालको शुभकामना व्यक्त गर्दै नयां अध्यक्षलाई आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । 

अध्यक्ष गोल्छाले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निवर्तमान पदाधिकारी, कार्यकारिणी समिति सदस्य, मुख्य प्रतिनिधि, अतिरिक्त प्रतिनिधि, सदस्य संघ संस्थाका पदाधिकारी लगायत सबैलाई धन्यवाद दिनुभयो । 

तत्पश्चात भर्खरै महासंघको नेतृत्व सम्हाल्नु भएका अध्यक्ष ढकालले आफूले आफना कार्यकालमा सिंगो निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने गरी कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । उहांले निवर्तमान अध्यक्ष गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा रहेर आफूले धेरै कुरा सिक्ने मौका पाएको पनि बताउनु भयो । अध्यक्ष ढकालले अवको तीन वर्षको कार्यकालमा आफना प्रतिवद्धता र लक्ष्यलाई पुरा गर्ने विश्वास समेत दिलाउनु भयो ।  

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by