Oct 01, 2026
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले मुलुकको कमजोर आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच थप सहकार्य र समन्वय आवश्यक रहेको बताउनु भएको छ ।
महासंघका अध्यक्ष श्रेष्ठले कोशी प्रदेशको इटहरीमा आयोजित सीप तथा रोजगार मेला समुद्घाटन तथा प्रदेश सरकार, उद्योग वाणिज्य संघ तथा उद्योगी–व्यवसायीसँगको भेटमा लगानी, रोजगारी, सीप विकास र व्यवसाय सञ्चालनका चुनौतीबारे छलफल गर्नु भएको थियो । सो अवसरमा प्रदेशको आर्थिक अवस्था, व्यवसायीका समस्या, रोजगार तथा सीप विकास र निजी क्षेत्रको भूमिकाबारे विभिन्न तहमा छलफल गर्नुभयो ।
सीप तथा रोजगार मेलामा सहभागी
नेपाल सरकारले इटहरीमा आयोजना गरेको सीप तथा रोजगार मेलामा सहभागी हुने क्रममा श्रेष्ठले कोशी प्रदेश महासंघको सचिवालय पुगेर प्रदेशको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गर्नु भयो ।
श्रेष्ठले सीप विकास र रोजगारीलाई निजी क्षेत्रको वास्तविक आवश्यकता तथा बजारको मागसँग जोड्नुपर्ने बताउनु भयो । आगामी दिनमा सीपमूलक तालिमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले व्यवसाय र रोजगार प्रवद्र्धनका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । स्थानीय तहमा उपलब्ध स्रोत र सम्भावनाको अधिकतम उपयोग गर्न उद्योग वाणिज्य संघ र स्थानीय तहबीच सार्वजनिक–निजी साझेदारीमा काम गर्नुपर्ने उनको भनाइ थियो । साथै उहाँले मागका आधारमा सीपमूलक तालिमहरु सञ्चालन गनुृ पर्नेमा जोड दिनुभयो ।
इटहरी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वलाई बधाई
अध्यक्ष श्रेष्ठले इटहरी उद्योग वाणिज्य संघको समेत भ्रमण गरी पदाधिकारी तथा व्यवसायीसँग छलफल गर्नुभयो । उहाँले संघको नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै स्थानीय उद्योग–व्यवसायका समस्या, लगानीको अवस्था र आर्थिक गतिविधिबारे जानकारी लिनुभयो । उहाँले स्थानीय तह र निजी क्षेत्रबीच नियमित समन्वयबाट स्थानीय स्रोत तथा सम्भावनालाई आर्थिक गतिविधिमा रूपान्तरण गर्न सकिने बताउनु भयो ।
त्यसैगरी श्रेष्ठले मोरङ उद्योग संगठन पुगेर पदाधिकारी तथा कार्यसमिति सदस्यहरूसँग औद्योगिक क्षेत्रका समस्या र सम्भावनाबारे छलफल गर्नुभयो । उद्योगीहरूले उत्पादन तथा व्यवसाय सञ्चालनमा देखिएका चुनौती, लगानीको वातावरण र औद्योगिक गतिविधि विस्तारका विषयमा धारणा राखेका थिए । मोरङ व्यापार संघमा पनि पदाधिकारी तथा व्यवसायीसँग भएको छलफलमा बजारको सुस्तता, व्यापार व्यवसाय सञ्चालनका समस्या र आर्थिक गतिविधि बढाउने उपायबारे छलफल भएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसँग पनि भेटघाट
यसगरि अध्यक्ष श्रेष्ठले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसँग पनि भेट गरी प्रदेशको आर्थिक विकासमा महासंघको प्रदेश संरचना र स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको थियो । सो अवसरमा प्रदेश तथा स्थानीय तहसँग महासंघको समन्वयलाई थप सुदृढ गर्ने विषयमा समेत छलफल भएको थियो ।
भेटका क्रममा उहाँले कोशी प्रदेशका कृषि, पर्यटन, उद्योग तथा व्यापार क्षेत्रमा रहेका सम्भावनालाई उपयोग गर्दै लगानी र रोजगारी विस्तार गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राउतले चुनौतीपूर्ण आर्थिक अवस्थाबीच प्रदेश महासंघले व्यवसायीलाई आवश्यक समन्वय र सहजीकरण गर्दै आएको बताउनु भयो ।
भ्रमणका क्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेत, केन्द्रीय सदस्य सुयश प्याकुरेल, कोशी प्रदेश महासंघका उपाध्यक्षद्वय राजन श्रेष्ठ र रविन दाहाल, कोषाध्यक्ष श्रवण अग्रवाललगायत उद्योगी–व्यवसायीले आर्थिक गतिविधि चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच थप समन्वय आवश्यक रहेको धारणा राख्नु भएको थियो ।