Oct 03, 2026
महासंघका अध्यक्ष र नेपालका लागि रसियाका राजदूतबीच भेटवार्ता - नेपाल–रसिया आर्थिक सम्बन्ध र सहकार्यलाई नयाँ चरणमा लैजानुपर्नेमा जोड (२०८३/०६/१७)


नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र रसियाबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यलाई नयाँ चरणमा लैजानुपर्नेमा जोड दिएको छ । 

नेपालका लागि रसियाली राजदूत अलेक्सेइ भी. सुरोभेस्तोभसँग महासंघ सचिवालय टेकुमा भएको भेटमा महासंघका अध्यक्ष अन्जन श्रेष्ठले रसियाली बजारमा नेपाली वस्तुको निर्यात विस्तार तथा नेपालको जलविद्युत्, पर्यटन, पूर्वाधार र प्रविधिमा रसियाली लगानी भित्र्याउन सकिने सम्भावना रहेको बताउनुभयो । 

अध्यक्ष श्रेष्ठले दुई देशबीचको व्यापारको वर्तमान आकार अपेक्षाकृत सानो रहेकाले निजी क्षेत्रबीच प्रत्यक्ष सम्पर्क, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक र व्यापारिक अवसरको पहिचानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । महासंघ र रसियन फेडेरेसनको च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीबीच सन् २०११ मा भएको सहकार्यलाई पुनः सक्रिय गर्दै निकट भविष्यमा बिजनेस फोरम वा बिजनेस काउन्सिलको बैठक आयोजना गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिनुभयो । 



नेपाल–रसिया कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको बताउँदै नेपालका लागि रसियाली राजदूत अलेक्सेइ भी. सुरोभेस्तोभले नेपाल र रसियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक तथा व्यावसायिक सहकार्यमा थप प्रभावकारी रूपमा रूपान्तरण गर्न रसिया सकारात्मक रहेको बताउनुभयो ।

नेपालले आर्थिक विकास र समृद्धिका लागि अघि सारेका प्राथमिकतामा रसियाली पक्षबाट सहयोग र सहकार्यलाई थप विस्तार गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । दुई देशका निजी क्षेत्रबीचको सम्पर्क र व्यावसायिक संवाद बढाउन पनि राजदूतले सकारात्मक धारणा व्यक्त गर्नुभयो । 

भेटमा पर्यटनलाई आर्थिक सम्बन्ध विस्तारको महत्वपूर्ण माध्यमका रूपमा अघि बढाउने, भौगोलिक दूरी, ढुवानी लागत र भुक्तानी प्रणालीका व्यावहारिक जटिलता समाधानका लागि सरकारी तथा निजी क्षेत्रबीच निरन्तर संवादमा जोड दिएइको छ । सो अवसरमा दुतावासका उच्च अधिकारी तथा महासंघका महानिर्देशक लगायतको सहभगिता थियो ।


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image