Oct 05, 2026
एलडीसी स्तरोन्नतिपछिको अवस्थाका लागि अहिलेबाटै स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यकः अध्यक्ष श्रेष्ठ (२०८३/०६/१९)

नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि उत्पन्न हुने सम्भावित चुनौती न्यूनीकरण गर्दै उपलब्ध अवसरको सदुपयोग गर्न अहिले देखि नै सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘अतिकम विकसित मुलुकबाट स्तरोन्नति सचेतना कार्यशाला’ मा उद्योगी, व्यवसायी, साना तथा मझौला उद्यम (एसएमई), तथा अन्य सरोकारवालाले संक्रमणकालका लागि तत्काल तयारी गर्नुपर्ने बताएका हुन् । 



सो अवसरमा बोल्दै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारको आग्रहपछि तत्कालका लागि एलडीसीबाट स्तरोन्नति पर सर्न सक्ने भउपनि त्यसपछिको व्यापारिक तथा अन्य सुविधामा हुने सम्भावित परिवर्तनका कारण नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कायम राख्न अहिलेबाटै स्पष्ट, समयबद्ध र कार्यान्वयनयोग्य तयारी आवश्यक रहेको बताउनु भयो । यस अघि प्राप्त तयारी अवधिको अपेक्षित उपयोग हुन नसकेको उल्लेख गर्दै उहाँले  अब उपलब्ध हुने थप समयलाई प्रभावकारी रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।  “ पर सरेको समय तत्काल आइहाल्छ । स्तरोन्नतिपछि सुविधा क्रमशः हट्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने आधार उत्पादन लागत, गुणस्तर र दक्षता नै हो । त्यसैले सरकारले यस्ता क्षेत्रमा तत्काल सुधार गर्दै अघि बढाउनुपर्दछ । निजी क्षेत्रले पनि सुविधा आधारित प्रतिस्पर्धाबाट क्षमता आधारित प्रतिस्पर्धातर्फ अघि बढ्दै उत्पादनको गुणस्तर, प्रविधि, मूल्य शृंखला र बजार विविधीकरणमा लगानी बढाउनुपर्दछ ।” अध्यक्ष श्रेष्ठले भन्नु भयो । 

कार्यक्रममा महासंघ बागमती प्रदेशका अध्यक्ष बेद बहादुर श्रेष्ठले एलडीसी स्तरोन्नतिको प्रभाव प्रदेश तथा स्थानीय तहमा रहेका उद्योग व्यवसायसम्म पुग्ने भएकाले यसबारे निजी क्षेत्रलाई समयमै सचेत र तयार बनाउनुपर्ने धारणा राख्नु भयो । 

उहाँले सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउँदै स्तरोन्नतिलाई चुनौतीका रूपमा मात्र नभई नयाँ अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यशालामा परियोजनाका परामर्शदाता भोजराज पोखरेलले नेपालले स्तरोन्नति हासिल गर्दा प्राप्त हुने अवसर र सामना गर्नुपर्ने चुनौतीबारे प्रस्तुति दिँदै नेपालले संक्रमणकालको तयारी योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्तरोन्नतिपछि उपलब्ध हुने अवसर उपयोग गर्न उत्पादन क्षमता, गुणस्तर, बजार विविधीकरण तथा निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउनु पर्ने बताउनु भयो । 

त्यसैगरी ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना तथा मझौला उद्यम अभिवृद्धि परियोजना’का परियोजना प्रमुख रोशन नेपालले परियोजनाको उद्देश्यबारे जानकारी दिँदै नेपालमा समावेशी तथा प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माण, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि र उनीहरूको बजार पहुँच विस्तारमा परियोजनाले काम गरिरहेको बताउनु भयो । उहाँले एलडीसी स्तरोन्नतिपछिको सम्भावित प्रभावबारे क्षेत्रगत तथा बजारगत अध्ययनसमेत गरिरहेको समेत जानकारी दिनुभयो । 

महासंघले एलडीसी स्तरोन्नतिको विषयमा प्रदेशस्तरबाटै सचेतना तथा छलफल अघि बढाउँदै आएको छ । विराटनगर, वीरेन्द्रनगर र धनगढीपछि काठमाडौंमा आयोजित यो शृंखलाको चौथो कार्यशाला हो । आगामी दिनमा भक्तपुर र ललितपुरमा समेत यस्ता कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ । कार्यशालामा उद्योगी, व्यवसायी, एसएमई, विकास साझेदार तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image