Mar 28, 2019
उवासंघ चितवनमा उद्यमशिलता विकास तालिम सम्पन्न
चैत १४ , चितवन ।

उद्योग वाणिज्य संघ - चितवनको सभाहलमा एक कार्यक्रमको आयोजना गरि १० दिने उद्यमशिलता विकास तालिमको समापन गरिएको छ । उद्योग वाणिज्य संघ-चितवन र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, चितवनको संयुक्त आयोजनामा सञ्चालित ऊक्त कार्यक्रम चैत ३ गते देखि शुरु भएको थियो ।

समापन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले उद्यमशिलता विकासको लागि उद्यमी बन्न चाहने ब्यक्ति संग जोखिम बहन गर्न सक्ने क्षमता, तत्परता र नयां कुरा सिक्ने ईच्छासक्ति आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले प्रत्येक व्यक्ति संग आ-आफ्नो क्षमता भएको र उक्त क्षमता पहिचान गरि सोहि क्षेत्रमा उद्यम गर्नुपर्ने बताउंदै १० दिन सम्म सञ्चालन भएको तालिमले सहभागिहरुलाई सो सम्बन्धमा आवश्यक ज्ञान हासिल भएको आसा ब्यक्त गर्दै उद्यमशिलता विकास संघको प्राथमिकतामा रहेकोले आवश्यक सहयोगका लागि संघ सदैव सकारात्मक रहेको बताउनु भयो । कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा. तिलचन्द्र भट्टराईले स्थानिय स्तरमा उपलब्ध भएका साधन र स्रोतहरुको अधिकतम सदुपयोग गर्दै उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहांले नेपालमा विदेशी लगानी आर्कषित गर्नका लागि सरकारले लगानी सम्मेलनको आयोजना गरिरहेको परिप्रेक्ष्यमा स्वदेशी वस्तुको उत्पादनमा समेत ध्यानाकर्षण गर्नु पर्ने बताउनु भयो ।

सोहि कार्यक्रममा बोल्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यालय प्रमुख रामचन्द्र सुवेदीले उद्योग वाणिज्य संघ-चितवन संग सहकार्य गरि कार्यक्रम गर्न पाउंदा आफुलाई खुशी लागेको धारणा ब्यक्त गर्दै उद्यमशिलता विकासमा प्रतिष्ठान सदैव तत्पर रहेको बताउनु भएको थियो ।

कार्यक्रममा सहभागिको तर्फबाट धारणा ब्यक्त गर्दै सहभागि द्धय दिपक थापा क्षेत्री, विष्णु कुमारी क्षेत्रीले तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्ने प्रतिवद्धता सहित यस्तो अवसर प्रदान गरेकोमा उद्योग वाणिज्य संघ-चितवन प्रति आभार व्यक्त गर्नुभएको थियो । सोहि कार्यक्रममा संघका कार्यसमिति सदस्य एवं उद्योग प्रबर्द्धन समितिका संयोजक सोम प्रसाद काप्रीले सफल उद्यमि हुनका लागि सहभागिहरुले वास्तविक सपना देख्न सक्नुपर्ने र उक्त सपनालाई आफ्नो कर्मशिल हात र समयानुकुल योजना मार्फत कार्यक्षेत्रमा लाग्नु पर्ने बताउंदै सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

१० दिन सम्म सञ्चालित उक्त तालिममा उवासंघ-चितवनका विशिष्ट सदस्य डा. होमबहादुर वस्नेत,औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका प्रमुख रामचन्द्र सुवेदी, प्रशिक्षक द्धय कल्पना आचार्य बस्ताकोटी र दुर्गा वरालले सहजीकरण गर्नुभएको थियो । तालिम कार्यक्रमको अवधिमै सहभागिहरुलाई उवासंघको पहलमा बिभिन्न व्यवसायीक क्षेत्रमा संलग्न सफल उद्यमीहरु संग समेत अनुभव आदान फ्रदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।  तालिम कार्यक्रममा बिभिन्न पेशा व्यवसाय गर्न ईच्छुक २३ जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रम उवासंघ-चितवनका अध्यक्ष सहनलाल प्रधानको सभापतित्व, नेउवामहासंघका केन्द्रिय सदस्य डा. तिलचन्द्र भट्टराईको प्रमुख आतिथ्यता र कार्यक्रम अधिकृत निलबहादुर के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by