Nov 20, 2026
 मोरङ उद्योग व्यापार संघद्वारा विराटनगरमा अर्थमन्त्री डा. वाग्लेसँगको स्वागत भेटघाट सम्पन्न
 
२०८३ मंसिर ४ गते, शुक्रबार,

निजी क्षेत्रका विद्यमान समस्या, चुनौती तथा आर्थिक गतिविधिबारे प्रत्यक्ष जानकारी लिने एवं सरोकारवालाहरूसँग संवाद गर्ने उद्देश्यले विराटनगर पाल्नु भएका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूलाई मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल कुमार साह सहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको टोलीले न्यानो स्वागत गरी औपचारिक भेटघाट गरेको छ ।
 
भेटघाटका क्रममा संघका अध्यक्ष साहले मुलुकको वर्तमान आर्थिक परिदृश्यसँगै कोशी प्रदेश तथा मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग–व्यवसाय क्षेत्रले भोगिरहेका नीतिगत तथा व्यावहारिक कठिनाइहरूबारे माननीय अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउनु भएको थियो । पछिल्लो समय नेपाली जुट निर्यातमा देखिएको अवरोध एवं समस्या, भारत निर्यातका क्रममा व्यहोर्नु परेको बीआईएस प्रमाणीकरणका प्रक्रियागत जटिलता, औद्योगिक क्षेत्रका लागि भारतसँग विद्युत आयात–निर्यातको प्रभावकारी व्यवस्थापन, खुल्ला सिमानाका अवैध कारोबार नियन्त्रण तथा सम्माननीय प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणका क्रममा उच्च प्राथमिकताका साथ उठान गरिनु पर्ने द्विपक्षीय व्यापार तथा पारवहनका मुद्दाहरू लगायतका समसामयिक विषयहरूमा विस्तृत छलफल गर्नु भएको थियो ।
 
साथै, अध्यक्ष साहले स्वदेशी उद्योगको संरक्षण, प्रवर्द्धन तथा उद्योगी–व्यवसायीहरूका विभिन्न समस्याहरू र तिनका व्यावहारिक समाधानका उपायहरू समेटी संघद्वारा तयार पारिएको विस्तृत सुझावपत्र समेत माननीय अर्थमन्त्री डा. वाग्लेज्यू समक्ष हस्तान्तरण गर्नु भएको थियो ।
 
कार्यक्रममा संघका पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू र उद्योगी व्यवसायीहरूको सक्रीय उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image