Nov 18, 2026
२०८३ मंसीर २ गते, बुधबार
मोरङ उद्योग व्यापार संघले आर्थिक विधेयक २०८३ मा उद्योग व्यवसाय क्षेत्रका लागि प्रदान गरिएका कर छुट तथा पुराना वक्यौता फछर्यौट सम्बन्धी व्यवस्थाहरु बारे अभिमुखिकरण तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष अनिल कुमार साहको सभापतित्वमा राष्ट्रिय कर दिवस २०८३ को अवसर पारी संघमा आयोजना गरिएको उक्त कार्यक्रमलाई आन्तरिक राजस्व कार्यालय, विराटनगर र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, मोरङले सहजीकरण गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा अध्यक्ष साहले सरकारले आर्थिक विधेयक २०८३ मार्फत उद्योग व्यवसाय क्षेत्रका लागि ल्याएको कर छुट तथा पुराना वक्यौता फछर्यौटका सुविधाहरुबारे कतिपय उद्योगी व्यवसायीहरु स्पष्ट नरहेको तथा अन्योलताका कारण ती सुविधाहरुबाट वञ्चित हुन सक्ने भएकाले सम्बन्धित निकायबाट उक्त विषयमा स्पष्ट जानकारी दिलाई सरोकारवाला उद्योगी व्यवसायीहरुलाई समयमै ती सुविधाहरुको उपयोग गर्न सहयोग पु¥याउने अभिप्रायले सो कार्यक्रम आयोजना गरिएको जानकारी गराउनु भएको थियो । साथै उहाँले उक्त सुविधाबाट अधिकांश समस्याग्रस्त उद्योगी व्यवसायीहरुलाई आ–आफ्ना व्यवसाय सुचारु गर्न तथा करको दायरामा आउन सुवर्ण अवसर प्रदान भएको बताउँदै सम्बन्धित सबै उद्योगी व्यवसायीहरुलाई सो सुविधाका अवसरहरुको लाभ उठाउन आग्रह गर्नु भएको थियो ।
आन्तरिक राजस्व कार्यालय, विराटनगरका प्रमुख कर अधिकृत केशव प्रसाद उप्रेति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, मोरङका अध्यक्ष सिए अश्वनी बंशलले समन्वय गर्नु भएको सो कार्यक्रमलाई संघका उद्योग उपाध्यक्ष संजय कुमार श्रेष्ठले संचालन गर्नु भएको थियो भने सहजकर्ताका रुपमा आन्तरिक राजस्व कार्यालय, विराटनगरका जीवराज निरौला र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ, मोरङका सीए युवराज उप्रेतिले कार्यक्रममा अभिमुखिकरण दिनु भएको थियो ।
कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुलाई स्वच्छ कर प्रशासन तथा करदाताको दायित्व तथा अधिकारका विषयहरु सहित विशेष गरी आर्थिक ऐन २०८३ का दफाहरु २५, २६, २८, ३० देखि ३३ र ३७ देखि ४९ मार्फत प्रदत्तित कर छुट तथा पुराना बक्यौता फछ्यौट गर्ने सुविधाहरु, व्यक्तिगत आयकर र पूँजीगत लाभकरका पछिल्ला व्यवस्थाहरुका साथै सम्पत्ति शुद्धीकरण, ग्रेलिष्ट लगायतका विषयहरुमा प्रष्ट्याइएको थियो । त्यस्तै गरी, नेपालमा व्यावसायिक तथा वित्तीय कारोबारहरुको लेखाजोखा र वित्तीय विवरण तयार पार्न लागू गरिएको राष्ट्रिय लेखामान प्रणाली, नेपाल फाईनान्सियल रिपोटिङ स्टान्डर्स (एनएफआरएस) र आयकर बारे अभिमुखिकरण दिईएको थियो ।
अभिमुखिकरण पश्चात् संचालित प्रश्नोत्तर तथा छलफलका क्रममा उद्योगी–व्यवसायीहरुले उठाएका जिज्ञासाहरुलाई प्रमुख कर अधिकृत उप्रेति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, मोरङका अध्यक्ष बंशलले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा मन्तव्य दिने क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका कार्यसमिति सदस्य देवकीनन्दन अग्रवालले उद्योगी व्यवसायीहरुलाई करको दायरामा ल्याउन गरिएका व्यवस्थाहरु प्रोत्साहजनक रहेको बताउनु भएको थियो भने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, मोरङका अध्यक्ष बंशलले सरकारले करदातालाई उपलब्ध गराएका विगतका सुविधाहरु मध्ये यस पटकको सुविधा अत्यन्त प्रशंसनीय तथा अधिकांश उद्योगी–व्यवसायीहरुलाई लाभान्वित तुल्याउने खालको रहेको बताउँदै सो महत्वपूर्ण अवसरको अधिकतम् उपयोग गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख कर अधिकृत उप्रेतिले असल तथा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै नियमित रुपमा कर भुक्तानी गर्न र करदाताका रुपमा देशको सामाजिक सुरक्षा प्रणालीबाट लाभान्वित हुन सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले आयोजकको तर्फबाट उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै अभिमुखिकरणबाट प्रष्ट्याइएका सुविधाहरुको समय मै लाभ उठाउन सबैलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा संघ सहित निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरुका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, आन्तरिक राजस्व कार्यालय, विराटनगरका कर अधिकृतहरु, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, मोरङका सदस्य चार्टर्ड एकाउन्टेन्टहरु, उद्योगी व्यवसायीहरु, सञ्चारकर्मीहरु लगायतको सक्रीय सहभागिता रहेको थियो ।