Nov 16, 2026
आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृतज्यूलाई चितवन उवासंघमा स्वागत तथा छलफल

भरतपुर, ३० कात्तिक २०८३ ।
चितवन उद्योग वाणिज्य संघले सोमबार संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी आन्तरिक राजस्व कार्यालय भरतपुरका नवआगन्तुक प्रमुख कर अधिकृत शरद निरौलालाई स्वागत तथा परिचयात्मक छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नवआगन्तुक प्रमुख कर अधिकृत निरौलालाई चितवनको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै संघका गतिविधिबारे जानकारी गराउनुभएको थियो । उहाँले निजी क्षेत्र र कर प्रशासनबिचको सम्बन्धलाई अझ सहज, विश्वासिलो र पारदर्शी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । कर प्रशासनले व्यवसायीलाई त्रास वा दण्डात्मक अनुगमनभन्दा पनि कर शिक्षा र सचेतनामार्फत स्वेच्छिक कर सहभागिता बढाउनुपर्ने अध्यक्ष सुवेदीको भनाइ थियो ।

कार्यक्रममा नवआगन्तुक प्रमुख कर अधिकृत शरद निरौलाले राज्यको नियमअनुसार कर तिर्नु व्यवसायीको दायित्व भएको बताउँदै कर कार्यालयले व्यवसायीको आयलाई वैधानिक र प्रमाणित गर्ने भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । उहाँले राज्यले निर्धारण गरेको कर नीति र कानुनको परिधिभित्र रहेर व्यवसाय सञ्चालन गर्न सम्पूर्ण उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभयो । साथै, व्यवसायीहरूलाई कर दाखिला तथा परामर्शमा सहजता होस् भन्ने उद्देश्यले चितवन उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय परिसरभित्र ‘हेल्प डेस्क’ सञ्चालन गरेकोमा आभार प्रकट गर्दै त्यसलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य एवम् चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रणालीको विकास आजको आवश्यकता रहेको बताउनुभयो । कर प्रशासन सुधार र व्यवसायीमैत्री वातावरण निर्माणका लागि चितवन उद्योग वाणिज्य संघ सधैँ सकारात्मक रही सहकार्य गर्न तयार रहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले यही २०८३ पौष २५ गते देखि  माघ ९ गते सम्म १६ औँ संस्करणको चितवन महोत्सव आयोजना गर्न लागेको जानकारी गराउँदै प्रमुख कर अधिकृतज्यूलाई सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा संघका उपाध्यक्षत्रय नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यसमिति सदस्यहरू तथा संघमा आबद्ध विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरूको उपस्थिति रहेको थियो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न स्वागत तथा छलफल कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image