Mar 16, 2017
सम्माननीय प्रधानमन्त्रीबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ समुद्घाटनः महासंघद्वारा प्रदर्शनीस्थलको अभाव रहेको गुनासो, प्रमबाट आजै प्रदर्शनी स्थलका विषयमा मन्त्रिपरिषदबाट निर्णय गराउने प्रतिवद्धता ( २०७३ चैत्र ३ )

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ को सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले आज एक विशेष समारोहका बीच भृकुटीमण्डपमा समुद्घाटन गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार वाणिज्य मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आयोजना भएको अन्तराष्ट्रिय व्यापार मेला आज देखि चैत्र ७ गतेसम्म चल्ने छ । नेपाल हस्तकला महासंघ, नेपाल जडीवूटी उत्पादक संघ तथा हिमाली आयोजना यस वर्षको मेलाको सहआयोजक रहेका छन् । 

समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । प्रधानमन्त्री दाहालले आर्थिक विकासका लागि आवश्यक ऐन कानुन ल्याउने कार्यमा निकै अगाडी बढेको र निजी क्षेत्रको माग अनुसार बांकी ऐन कानूनहरु ल्याउने कार्यमा पनि सरकार गम्भीरताका साथ लागेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री  दाहालले मेला महोत्सवका लागि राजधानीमा एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी स्थल नहुदाको समस्या महासंघका तर्फबाट उठाइएपछि त्यसलाई आजकै मन्त्रिपरिषदको बैठकमा राखेर यस सम्बन्धमा ठोस निर्णय गर्ने विश्वास समेत दिलाउनु भयो ।  । 

त्यस अघि प्रारम्भमा स्वागत मन्तव्य दिनुहुंदै महासंघका अध्यक्ष पशुपति मुरारकाले मेला महोत्सवबाट आर्थिक गतिविधि विस्तार, उद्यमशीलता विकास, जनतामा केही गर्न सचेतना बढेको अर्थतन्त्रको मूल प्रवाहमा जनतालाई समेट्न सफलता प्राप्त गरेको वताउनु भयो । 

महासंघको मेला समितिका सभापति केशवराज पाण्डेले मेलाको वारेमा पूर्ण जानकारी दिंदै नेपाल अन्तराष्ट्रिय व्यापार मेलाले स्वदेश तथा विदेशमा समेत आफ्नो पहिचान वनाई सकेको बताउनु भयो । सभापति पाण्डेले मेला आयोजनाका लागि एक व्यवस्थित सुविधा सम्पन्न प्रदर्शनी स्थल अभावका कारण भएको समस्या समेत जानकारी गराउनु भयो ।

धन्यवाद मन्तव्यका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाले मेला महोत्सवको आयोजनाले आम जनमानसमा व्यवसायिक धारणामा विकास हुने बताउनुभयो । यस किसिमका मेला महोत्सवले स्थानीय उत्पादनहरुको प्रवद्र्धन हुने उत्पादकहरुमा स्वावलम्बीपन बढ्ने बताउनुभयो । 

नेपाली उत्पादन तथा सेवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय जगतमा उद्योग व्यवसाय क्षेत्रले पछिल्लो पटक अवलम्वन गरीरहेको प्रविधिगत ज्ञान तथा संयुक्त सहकार्यका सम्भाव्यताका सम्बन्धमा स्वदेशी एवं विदेशी उद्यमी व्यवसायीहरु बीच अन्तरक्रियाका माध्यमबाट मुलुकभित्र उद्यम व्यवसाय विस्तारमा सघाउ पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले करिव एक दशक देखि काठमाडौमा अन्तराष्ट्रियस्तरको मेला आयोजना गर्दै आएको छ । यो मेला छैठौं संस्करण हो । 

पछिल्ला केही वर्षहरुदेखि एक स्थायी व्यानरमा रहेर यो मेला नेपाल अन्तराष्ट्रिय व्यापार मेलाका नाउंले आयोजना हुंदै आएको छ । यो मेलालाई नेपाल सरकारको वार्षिक कार्यक्रम अन्तरगत समेत समावेश गरिएको छ । महासंघले सरकारको सहयोगमा देशैभर सदस्य संघहरुको संयोजनमा जिल्ला तथा क्षेत्रीयस्तरमा मेला महोत्सवको आयोजना समेत गर्दै आएको छ । यस वर्ष करिव तीन दर्जन यस्ता मेला महोत्सव सम्पन्न भैसकेका छन् । जसमा हजारौं प्रदर्शकहरुले स्वदेशी एवं विदेशी उत्पादनहरु प्रदर्शनी गरेका, दशांैहजार स्वदेशी एवं विदेशी अवलोकनकर्ताहरुले मेला महोत्सव अवलोकन गरेका र अर्वौको आर्थिक कारोवार भएको जानकारीहरु महासंघले प्राप्त गरेको छ । 

देशैभर आयोजना भएका त्यस्ता मेला महोत्सवबाट स्थानीय तहमा आर्थिक गतिविधि बढेको, स्थानीय तहमा उद्यमशीलताको प्रवद्र्धन भएको, घर आंगनमा उत्पादनका भएका वस्तुहरुले मुल्य पाउन थालेको, खेर गैरहेका स्थानीय स्रोत साधनको सही सदुपयोग भई स्थानीय जनताले त्यसबाट लाभ उठाउन थालेको विश्लेषण हाम्रो छ । 

३ सय ४० स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ । यस वर्ष मेलामा चीन, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायत देशका कम्पनीहरुको सहभागिता रहने छ भने जापान, कोरिया, थाइल्याण्ड आदि देशहरुबाट खरिदकर्ताहरुले अवलोकन गर्ने छन् । मेलामा चीनबाट ८५, भारत १०, पाकिस्तान २०, बंगलादेश ५०, थाइल्याण्ड मलेशियाबाट ५ वटा स्टलहरु रहेका छन् ।

करिव ३ करोड जनता वसोवास गर्ने सिंगो नेपालनै प्रमुख वजार हुन सक्ने प्रसस्त संभावना रहेकाले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आर्थिक क्षेत्रमा नविनतम सोंच, विचार, उत्पादन, सेवाहरु तथा प्रविधिको प्रवद्र्धन गर्ने सवैभन्दा सशक्त र प्रभावकारी माध्यम बनिरहेकोछ । एकै छानामुनीबाट स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रवद्र्धन, खरिद विक्री, प्रत्यक्ष अन्तरक्रिया हुने मेला नयां सोंच, उत्पादन तथा प्रविधिको सही परिक्षण गर्ने उपयुक्त थलो पनि हो । यसका अतिरिक्त मेलामा नेपाली र सहभागी अन्तराष्ट्रिय प्रदर्शनीकर्ता बीच प्रविधि तथा शीप आदान प्रदान, एकल तथा संयुक्त लगानीको सम्भाव्यता तथा लगानीका क्षेत्रहरुको पहिचान, आपसी व्यवसायिक भेटघाट लगायतका महत्वपूर्ण आकर्षणहरु रहने छन् । महासंघले यसलाई अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ समेत गरिरहेको छ । महासंघले मेलालाई स्वदेशी एवं विदेशी प्रदर्शनीकर्ता बीच व्यवसायिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण फोरमको रुपमा विकास गरिसकेको छ ।

मेलाका अवलोकनका लागि दर्शकहरुको निकै भिड बढेको छ । पहिलो दिनमै दर्शकहरुको निकै उत्साहपूर्ण सहभागिता रहेको छ ।  मेला अवलोकनका लागि चीनको वाणिज्य मन्त्रालयका निर्देशकको नेतृत्वमा एक प्रतिनिधिमण्डल समेत नेपाल भ्रमणमा आएको छ । त्यसैगरि अन्य देशहरुबाट समेत व्यवसायीहरु मेला अवलोकनका लागि आउने कार्यक्रम छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको सम्बोधन
नेउवामहासंघका अध्यक्षबाट दिनु भएको स्वागत मन्तव्य
नेउवामहासंघका वरिष्ठ उपाध्यक्षबाट दिनु भएको धन्यवाद ज्ञापन 

थप फोटोको लागि
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by