Apr 27, 2017
नेपाल सरकार उद्योग मन्त्रालयद्धारा महासंघका नव निर्वाचित पदाधिकारीको स्वागत ,मिति २०७४/०१/१३
नेपाल सरकार उद्योग मन्त्रालयद्धारा नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा आज उद्योग मन्त्रालयमा एक स्वागत कार्यक्रमको आयोजना गरियो । 

उक्त कार्यक्रममा माननीय उद्योग मन्त्री नविन्द्रराज जोशीले महासंघका नव निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यलाई खादा ओढाई सम्मान एवं स्वागत गर्नुभयो । सो अवसरमा महासंघका अध्यक्ष भवानी राणा सहित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति थियो । 

उक्त कार्यक्रमलाई संबोधन गर्नुहुँदै मन्त्री जोशीले महासंघको नव निर्वाचित टिमलाई बधाई दिंदै कार्यकालको सफलताको कामना गर्नुभयो ।सो अवसरमा मन्त्री जोशीले हामी सबैको लक्ष्य भनेको मुलुकको सम्मृद्धिनै रहेकोले यसलाई सफल पार्न निजी क्षेत्रको ठूलो हात रहेको बताउनुभयो । आगामी १० वर्ष भित्र कुनै पनि नेपाली युवाहरुले रोजगारीका लागि  मुलुकबाट बाहिर जानुनपर्ने र नेपालमै रोजगारी सृजना गर्नेे लक्ष्य मन्त्रालयको रहेको बताउनुुुहुँदै त्यसलाई सफल पार्न समेत निजी क्षेत्रबाट आफुले ठूलो सहयोगको अपेक्षा गरेको बताउनुभयो । मुलुक भित्र लगानीको वातावरण बनाउन आफु सदैव क्रियाशिल रहेको र आवश्यक सबै किसिमका प्रक्रियागत सरलताहरु कायम गर्दै निजी क्षेत्रको समेत सहयोग एवं सहकार्यमा मन्त्रालय अगाडी बढिरहेको समेत जानकारी गराउनुभयो ।

सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले पहिलो पटक नेपाल सरकार उद्योग मन्त्रालयले महासंघका नव निर्वाचित टिमलाई स्वागत गरि एक परम्पराको शुरुवात गरेकोमा खुशी व्यक्त गर्नुहुँदै यस कार्यले आफुहरुमा थप उर्जा मिलेका बताउनुभयो । साथै उहाँले निजी क्षेत्र औद्योगिक विकास नयाँ लगानी विस्तार, रोजगारी सृजना लगायतका कार्यमा निरन्तर सरकारको साथ रहिरहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको प्रारम्भमा उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोइरालाले पहिलो पटक महासंघको नव निर्वाचित टिमलाई स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै निजी क्षेत्रसंग निरन्तर सहकाय गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by