Oct 07, 2026
उद्योग वाणिज्य परिषद्संगै थप चार समितिले पाए पूर्णताः सदस्यलाई पत्र हस्तान्तरण (२०८३/०६/२२)

नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको उद्योग वाणिज्य परिषद्ले पूर्णता पाएको छ । महासंघमा उद्योग वाणिज्य परिषद्, वस्तुगत परिषद्् र रोजगारदाता परिषद् गरि तीन वटा परिषद् रहेका छन् । दुईवटा परिषद्ले यस अघि नै पूर्णता पाइसकेका थिए ।  

महासंघले उद्योगी–व्यवसायीका क्षेत्रगत समस्या तथा सुझावलाई संस्थागत रूपमा संकलन, अध्ययन र सम्बोधनका लागि विभिन्न परिषद् तथा समितिमार्फत काम गर्दै आएको छ । महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अन्जन श्रेष्ठले मनोनयन सदस्यहरूलाई पत्र हस्तान्तरण गर्नभएको थियो । 

सो अवसरमा बोल्दै महासंघका अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य परिषद्लाई निजी क्षेत्रका आवाजलाई संस्थागत रूपमा सरकारसमक्ष पु¥याउने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले परिषद्का सदस्यहरूले आफ्नो क्षेत्रका समस्या, सम्भावना र नीतिगत आवश्यकतालाई महासंघको प्राथमिकतामा ल्याउन सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा महासंघका जिल्ला नगर उपाध्यक्ष तथा उद्योग वाणिज्य परिषद्का सभापति कृष्णप्रसाद शर्माले परिषद्ले निजी क्षेत्रका उद्योगी–व्यवसायीका समस्या पहिचान गरी महासंघमार्फत नीति निर्माण तहमा प्रभावकारी रूपमा उठान गर्ने बताउनुभयो । 

उहाँले परिषद्लाई निजी क्षेत्र र महासंघबीचको महत्वपूर्ण समन्वयकारी संयन्त्रका रूपमा अघि बढाउने धारणा व्यक्त गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योग तथा व्यवसाय क्षेत्रका वास्तविक समस्या समाधानका लागि परिषद्हरूलाई थप सक्रिय र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रको सुझाव र अनुभवलाई नीतिगत सुधारसँग जोड्न परिषद्को भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

महासंघका जिल्ला नगर उपाध्यक्ष तथा परिषद्का सहसभापति दिलसुन्दर श्रेष्ठले देशभरका उद्योगी–व्यवसायीका समस्या संकलन गरी महासंघको नीतिगत पहलमा जोड्ने काममा परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्ने बताउँदै स्थानीय तहदेखि राष्ट्रिय तहसम्म निजी क्षेत्रका मुद्दालाई समन्वयपूर्वक अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

महासंघका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले वस्तुगत क्षेत्रमा रहेका उद्योगी–व्यवसायीका समस्या र नीतिगत विषयलाई परिषद्मार्फत महासंघको नेतृत्वमा पु¥याउन सकिने बताउनुभयो । 

महासंघका एशोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले लगानी, उद्यमशीलता र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । 

महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले उद्योग वाणिज्य परिषद्का सदस्यहरूको सक्रिय सहभागिताले महासंघका गतिविधिलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा परिषद्का नवनियुक्त सदस्यहरूले आफ्नो क्षेत्र तथा व्यवसायिक समुदायका समस्या, सम्भावना र सुझावलाई महासंघको नीतिगत बहस तथा पैरवीमा जोड्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

थप चावटा समितिले पनि पाए पूर्णता 

यसैगरी उद्योग वाणिज्य महासंघ अन्तर्गतका थप चारवाटा समितिले पनि पूर्णता पाएका छन् । पूर्णता पाउने अन्य समितिहरुमा केन्द्रीय सदस्य नवीन रिजालको सभापतित्वमा व्यापार समिति,दीपक नेपालको सभापतित्वमा स्थानीय आर्थिक विकास,गोकूल श्रेष्ठको सभापतित्वमा घरेलु तथा साना उद्योग समिति र कृष्ण कटुवालको सभापतित्वमा खेलकुद तथा मनोरञ्जन समितिलाई पूर्णता दिइएको हो । 

महासंघमा आयोजित कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष सरकृष्ण वैद्य, जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्मा तथा वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले नयाँ सदस्यहरुलाई पत्र हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा उहाँहरुले विषयगत समितिहरूले आ–आफ्नो क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधानका लागि स्पष्ट नीतिगत सुझाव दिन आग्रह गर्नुभयो । 

साथै उहाँहरुले सरकारसँगको संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउन समितिहरूको विशेषज्ञता र सक्रियता अपरिहार्य रहेकोमा जोड दिनुभएको थियो ।


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image