Sep 23, 2026
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका विषयगत समितिहरूलाई निजी क्षेत्रका समस्या, सम्भावना र नीतिगत विषयमा गहन अध्ययन गरी संस्थागत धारणा निर्माण गर्ने प्रमुख संयन्त्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतका ‘स्थल यातायात तथा पारवहन समिति’ र ‘सूचना तथा सञ्चार प्रविधि विकास समिति’ मा मनोनित सहसभापति, सदस्य तथा सल्लाहकारहरूलाई पत्र हस्तान्तरण गर्न महासंघ सचिवालय टेकुमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विषयगत समितिहरूले आ–आफ्नो क्षेत्रका वास्तविक समस्या पहिचान गरी समाधानका लागि स्पष्ट नीतिगत सुझाव दिन आग्रह गर्नुभयो । साथै उहाँले सरकारसँगको संवाद र सहकार्यलाई थप प्रभावकारी बनाउन समितिहरूको विशेषज्ञता र सक्रियता अपरिहार्य रहेको बताउनु भयो ।
महासंघको सचिवालयमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मनोनित पदाधिकारी तथा सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो । दुवै समितिमा सहसभापति, सदस्य तथा सल्लाहकारहरू मनोनित भएसँगै थप दुई समितिको गठन प्रक्रियाले पूर्णता पाएको छ ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले समितिहरू महासंघ र व्यवसायीबीचको महत्वपूर्ण पुल भएको बताउँदै व्यवसायीहरूका गुनासा र सुझावलाई नीति निर्माण तहमा प्रभावकारी ढङ्गले जोड्नुपर्ने धारणा राख्नुभयो ।
वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले यातायात तथा सूचना प्रविधि दुवै क्षेत्र नेपालको आर्थिक समृद्धिका प्रमुख आधार भएको उल्लेख गर्दै यी समितिहरूले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र लगानी प्रवर्द्धनमा विशेष योगदान पुर्याउनु पर्ने बताउनु भयो ।
स्थल यातायात तथा पारवहन समितिका सभापति लिलेन्द्र प्रधानले नेपालको व्यापार र आपूर्ति शृङ्खलालाई सहज, प्रतिस्पर्धी तथा लागत–प्रभावकारी बनाउन यस क्षेत्रका विद्यमान नीतिगत र व्यवहारिक समस्याहरूको तात्कालिक समाधान आवश्यक रहेको औँल्याउनुभयो । ढुवानी लागत, पूर्वाधार, सीमा नाका र पारवहन सहजीकरणलाई समितिले उच्च प्राथमिकतामा राख्ने उहाँको धारणा थियो ।
त्यसैगरी, सूचना तथा सञ्चार प्रविधि विकास समितिका सभापति सुनैना घिमिरे पाण्डेले सूचना प्रविधिको तीव्र विकाससँगै मुलुकमा डिजिटल अर्थतन्त्र, प्रविधिमा आधारित उद्यमशीलता र नवप्रवर्तनका नयाँ सम्भावनाहरू खुल्दै गएको बताउनुभयो । डिजिटल व्यवसायको प्रवर्द्धन र नीतिगत सुधारका क्षेत्रमा महासंघको भूमिकालाई अझ अब्बल बनाउन समितिले क्रियाशील भएर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना विषयगत समितिहरूलाई सम्बन्धित क्षेत्रका चुनौती तथा सम्भावनाहरूको अध्ययन गर्ने, सरकारसँग सहकार्य गर्ने तथा मुलुकको आर्थिक विकासका लागि आवश्यक नीतिगत सुधारका सुझाव पेस गर्ने सशक्त निकायका रूपमा लिँदै आएको छ ।