Aug 19, 2026
महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा सल्लाहकार तथा सदस्यहरु मनोनित  - कृषिलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नु पर्नेमा जोड (२०८३/०५/०३)

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रलाई कृषि उद्यम, लगानी, प्रविधि, नवप्रवर्तन र बजारलाई एकीकृत गर्ने प्रभावकारी संस्थाका रूपमा अघि बढाइने भएको छ । कृषि उद्यम केन्द्रका समितिका सहसभापति, सदस्यहरू तथा सल्लाहकारहरुलाई मनोनयन पत्र हस्तान्तरण गर्न महासंघमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए । 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न कृषि उद्यम केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । केन्द्रले किसान, उद्यमी, लगानीकर्ता र बजारबीच समन्वय गर्ने प्रभावकारी संस्थागत संयन्त्रका रूपमा काम गर्नुपर्नेमा जोड दिँदै उहाँले कृषि उत्पादनलाई बजारसँग जोड्न नसक्दा किसानले अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्नुभयो । उहाँले उत्पादनसँगै प्रशोधन, मूल्य अभिवृद्धि, बजारीकरण र निर्यातमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।  

कृषि क्षेत्रमा लगानी र उद्यमशीलता विस्तारका लागि नीतिगत तथा संस्थागत अवरोध हटाउन महासंघले आवश्यक पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले कृषि उद्यम केन्द्रलाई परिणाममुखी र व्यावसायिक ढंगले अघि बढाउन समितिका सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणविना मुलुकको दिगो आर्थिक विकास सम्भव नहुने बताउनुभयो । उहाँले कृषि उद्यम केन्द्रले किसानको उत्पादन, निजी क्षेत्रको लगानी, आधुनिक प्रविधि र बजारलाई जोड्दै कृषि क्षेत्रमा नयाँ उद्यम र रोजगारी सिर्जनाको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । 

महासंघका जिल्ला–नगर उपाध्यक्ष कृष्णप्रसाद शर्माले कृषि उद्यम केन्द्रले मुलुकभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग समन्वय गरी स्थानीय तहमा कृषि उद्यमको सम्भावना पहिचान तथा प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, किसान र उद्यमीबीच सहकार्य बढाउने तथा स्थानीय स्रोतसाधनको व्यावसायिक उपयोग गर्न केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँको भनाइ थियो । 

त्यसैगरी महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले कृषि क्षेत्रमा लगानी विस्तारका लागि वित्तीय पहुँच, लगानी सुरक्षा र अनुकूल व्यावसायिक वातावरण आवश्यक रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको सम्भावनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न केन्द्रका कार्यक्रम स्पष्ट लक्ष्य र परिणामका आधारमा सञ्चालन हुनुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कृषि क्षेत्रलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट मुक्त गरी व्यावसायिक, प्रतिस्पर्धी र निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको कुल जनसंख्याको करिब आधा हिस्सा कृषि क्षेत्रमा संलग्न रहेको र कुल गार्हस्थ्य उत्पादनमा समेत कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेकाले कृषि क्षेत्रको रूपान्तरणविना समग्र आर्थिक समृद्धि सम्भव नहुने बताउनुभयो । 

उहाँले उत्पादनदेखि प्रशोधन, मूल्य अभिवृद्धि, ब्रान्डिङ, प्याकेजिङ र निर्यातसम्मको पूर्ण मूल्य शृङ्खला विकास गरी किसानलाई बजारसँग र उत्पादनलाई उद्योगसँग जोड्नुपर्ने बताउनुभयो । कृषि–उद्योग समन्वय विस्तार, खाद्य प्रशोधन, कोल्ड चेन, भण्डारण तथा कृषि पूर्वाधारमा निजी लगानी आकर्षित गर्ने, सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्ने तथा कृषि लगानी सम्मेलनजस्ता पहल अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । 

महासंघका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवप्रसाद घिमिरे नेतृत्वको सो समितिको सहसभापतिमा राजेशभक्त  श्रेष्ठ तथा सहित विभिन्न व्यक्तिहरुलाई समितिको सदस्य तथा सल्लाहकारको मनोनयन पत्र हस्तान्तरण गरिएको थियो । वि.सं. २०४८ मा स्थापना भएको कृषि उद्यम केन्द्रले तीन दशकभन्दा बढी समयदेखि कृषि क्षेत्रमा नीतिगत पैरवी, उद्यमशीलता विकास तथा बजार प्रवद्र्धनमा काम गर्दै आएको छ । नयाँ कार्यसमितिले केन्द्रलाई कृषि उद्यम, लगानी, आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय बजारबीचको सशक्त सेतुका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ ।


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image