Aug 10, 2024
ठुला दलको सरकारबाट स्थायित्व र आर्थिक सुधारको अपेक्षाः अध्यक्ष ढकाल (२०८१/०४/२६)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संसदका ठुला दलहरु मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्व कायम भै निजी क्षेत्र विस्तार हुने अपेक्षा गर्नुभएको छ । कैलाली उद्योग वाणिज्य संघको बार्षिक साधारणसभालाई प्रमुख अतिथिको हैसियतले शनिवार सम्बोधन गर्नुहुँदै अध्यक्ष ढकालले नीतिगत अस्थीरता आर्थिक विस्तारको सबैभन्दा ठूलो समस्या रहेको सन्दर्भमा अब सुधारको सम्भावना रहेको वताउनुभएको हो ।



मुलुकको वाह्य क्षेत्र सुदृढ रहेको र सेयर बजारले पनि गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सिर्जना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने वताउनुभयो । 

केन्द्रियसंगै प्रदेश सरकार पनि स्थायी हुने सम्भावना देखिएको छ । यस सन्दर्भमा प्रदेशमा आर्थिक गतिविधि विस्तार गर्न प्रदेश र स्थानिय सरकारले पनि सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाई थियो । 

कुल गार्हस्थ्य उत्पादनमा प्रदेशहरु मध्ये छैठौ स्थानमा रहेको र सबैभन्दा बढि गरिबी रहेको सुदुरपश्चिममा सम्भावना भने उच्च रहेको अध्यक्ष ढकालले वताउनुभयो । जलस्रोत पर्यटन मात्रै नभइ यहाँको जनशक्ति निक्कै मिहिनेती रहेको र युवाहरु बिकासको सम्भाहक हुने उहाँको भनाइ थियो । 

जिल्लामा रहेका साना मझौला उद्यमलाई सहयोग पुग्ने गरि महासंघले काम गरिरहेको पनि अध्यक्ष ढकालले वताउनुभयो । कुनै समस्या भए समाधानका लागि महासंघले पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । 

कैलाली उद्योग वाणिज्य संघको पचासौ बार्षिक साधारणसभाको अध्यक्ष ढकाल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा संघका अध्यक्ष पुष्प कुँवरले सुदुरपश्चिम प्रदेशमा आर्थिक गतिविधि विस्तारमा संघले प्रभावकारी भूमिका निर्वाह गरिरहेको वताउनुभयो । साथै सुदुरपश्चिमका उत्पादनको बजारीकरण, वित्तिय पहुँच लगायतका क्षेत्रमा सरकारको सहयोग आवश्यक रहेको पनि उहाँको भनाइ थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by