Sep 15, 2026
महासंघका अध्यक्ष श्रेष्ठ र विदुर नगरपालिका प्रमुखबीच भेटवार्ता – विपद्पछिको पुनःस्थापना, स्वास्थ्य र शिक्षा र रोजगारी सिर्जनाका विषमा छलफल (२०८३/०५/३०) 

रसुवा बाढीको कारण प्रभावित नुवाकोट क्षेत्रको राहत, पुनःस्थापना तथा पुनःनिर्माण लगायतका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठबीच छलफल भएको छ ।

महासंघ सचिवालय, टेकुमा भएको भेटवार्तामा बाढीपहिरोबाट प्रभावित उद्योग–व्यवसायको पुनःस्थापना, स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउने तथा पुनःनिर्माणका क्रममा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । विपद्पछिको अवस्थामा प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय तथा पुनःस्थापनाका लागि आवश्यक पहलमा महासंघ र नगरपालिकाबीच सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो । 

सो अवसरमा दुवै पक्षले विपद् व्यवस्थापन तथा पुनःनिर्माणसँगै दीर्घकालीन रूपमा स्थानीय उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलता प्रवद्र्धन र शिक्षा,सवास्थ्य तथा सीप विकासका क्षेत्रमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विपद्का कारण उद्योगी–व्यवसायी तथा स्थानीय अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न सरकार, स्थानीय तह र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनु भयो । “प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थानका लागि स्थानीय तहसँग समन्वय गर्दै महासंघले आवश्यक सहजीकरण र नीतिगत पहल गर्न तयार छ । स्थानीय सरकारले जग्गा उपलब्ध गराएमा सोही ठाउँमा तत्काल अस्थायी बजार निर्माण गरि व्यवसाय सञ्चालन गर्नका लागि महासंघले पहल गर्न सक्दछ । यसले स्थानीय स्तरमा व्यवसाय प्रर्वद्धनमा सहयोग पुग्न सक्छ ।” अध्यक्ष श्रेष्ठले भन्नुभयो । 



विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले विपद्पछि स्थानीय स्तरमा देखिएका समस्या समाधान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि महासंघजस्तो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थासँगको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो । स्थानीय उद्योग तथा व्यवसायको प्रवद्र्धन, लगानी आकर्षण, उद्यमशीलता विकास तथा आवश्यक सहजीकरणका क्षेत्रमा महासंघसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनु भयो । 

नगरप्रमुख श्रेष्ठले पूर्वाधार निर्माणका लागि जग्गा व्यवस्थापनका लागि सङ्घीय सरकारसंग समन्वय भईरहको जानकारी दिनुभयो । साथै उहाँले स्थानीय उत्पादन, उद्यमशीलता र लगानी प्रवर्द्धनमार्फत प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई पुनःगतिशील बनाउन महासंघको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । 

छलफलमा शिक्षा क्षेत्रमा गर्न सकिने सहकार्य, स्थानीय युवालाई सीप, उद्यमशीलता तथा व्यावसायिक ज्ञान प्रदान गर्ने, निजी क्षेत्रसँगको सहकार्यमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने तथा स्थानीय आवश्यकता र सम्भावनाअनुसार उद्यमशीलता प्रवद्र्धन गर्ने विषयमा सहकार्य अघि बढाउने सकिने कुरामा दुवै पक्षले जोड दिएका थिए । 
 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image