Jun 14, 2024
महासंघको रणनीति तयारी पूर्व सदस्य संघहरुसंग छलफल (२०८१/०२/३२)

नेपाल उद्योग वाणिज्य महासंघले प्रदान गर्ने सेवा प्रभावकारी बनाउन रणनीति तयारी पूर्व आफना सदस्य संघहरूसंग छलफल गरीरहेको छ । महासंघले सदस्य सेवा प्रभावकारी बनाउने उद्देश्य सहित उक्त रणनीति तयार गर्न लागेको हो ।

महासंघले विहीवार महासंघका सदस्य वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरूसंग एक कार्यशाला कार्यक्रमको आयोजना गरेको थियो । कार्यशालामा महासंघका पदाधिकारी, कार्यकारिणी  समिति सदस्य र वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका पदाधिकारी एवं प्रतिनिधिहरु गरी करिव ७० जनाको सहभागिता थियो ।  

कार्यशालामा चेम्वर प्रणालीको समिक्षा, महासंघको विद्यमान संरचना र भूमिका, विद्यमान प्रणाली भित्रका चुनौतीहरु, चेम्वर प्रणालीको प्रभावकारिता सुधार गर्न प्रवेश विन्दूहरु, वस्तुगत संघहरुले गरेका प्रारम्भिक अपेक्षा नक्सांकन र अन्तराष्ट्रिय अभ्यास खासगरी जर्मनीको चेम्वर प्रणालीका उदाहरणमाथि छलफल गरिएको थियो । 

कार्यशालाको प्राविधिक शत्र अगाडीको शुभारम्भ सत्रलाई संवोधन गर्दै महासंघको वस्तुगत परिषद्का सभापति हेमराज ढकालले वदलिंदो परिस्थितिसंगै सदस्य संगठन बीच बलियो सञ्चार, निरन्तर स्पष्ट भूमिका, नविनतम कार्य अभ्यास, वृहत व्यवस्थापन कौशललाई उच्च प्राथमिकता दिन जरुरी रहेको बताउंदै महासंघले तयार गर्ने रणनीति यसका सदस्यहरूको अपेक्षालाई संवोधन गर्न सक्नेखालको हुनुपर्ने सुझाव राख्नुभयो । 

महासंघ सहित महासंघका सवै सदस्य संघहरु सदस्यमा आधारित सगठन भएकाले हामीले दिने सेवाबाट सदस्यहरु प्रभावित भएमा महासंघ जस्ता संस्थाहरु थप मजवूद हुने पनि उहांले बताउनुभयो । 

महानिर्देशक गोकर्ण अवस्थीले उद्योग वाणिज्य संघहरु संचालन गर्ने तौरतरिकामा नविनतम अभ्यासलाई अवलम्वन गर्नुपर्ने बेला आइसकेको भन्दै कस्तो प्रकारको दस्तावेज तयार गर्दा महासंघ र यसको सिंगो संरचना प्रभावकारी रुपमा परिचालन हुन सक्छ र समग्रमा यसबाट मुलुकको सिंगो आर्थिक क्षेत्र लाभान्वित हुन सक्छ त्यसमा खुलेर सुझाव दिन आग्रह गर्नुभयो । 

कार्यशालाको प्राविधिक शत्रमा जीआइजेडका सल्लाहकार दिप्ती खकुरेल, परामर्शदाताहरु डा. हेमन्त दवाडी र दिलिप गुरुङले स्रोत व्यक्तिको रुपमा भूमिका निर्वाह गर्नु भएको थियो । सो अवसरमा वस्तु तथा सेवा, साझेदारी, पैरवी र अनुसन्धानका क्षेत्रमा महासंघ र सदस्यहरुले एक आपसबाट गरेका अपेक्षाका विषयमा कार्यशाला केन्द्रीत थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by