Oct 21, 2023
सुदुरपश्चिम सरकार र महासंघबीच सहमतिपत्रमा हस्ताक्षर - लगानी प्रवर्द्धन र बिकासका लागि सहकार्य (२०८०/०७/०४)

सुदुर पश्चिम सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी प्रवर्द्धन र बिकासका गतिविधि संचालनका लागि सहकार्य गर्ने बिषयमा समझदारी भएको छ । शनिवार महासंघमा आयोजित एक कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल वहादुर शाह र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । 

समझदारी अनुसार प्रदेश सरकार र महासंघले सुदूर पश्चिम प्रदेशमा लगानी प्रवर्द्धन गर्न र प्रदेशको आर्थिक विकास एवं समृद्धिमा योगदान पुर्याउन सहकार्य गर्ने प्रतिवद्धता जनाइएको छ । सोही अनुसार प्रदेश सरकार र महासंघको संयूक्त आयोजनामा आगामी २०८० फाल्गुण २३ र २४ गते “सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन” आयोजना गरिनेछ । उक्त सम्मेलन सफल पार्न महासंघको सम्पूर्ण संयन्त्रले काम गर्ने महासंघ अध्यक्ष ढकालले प्रतिवद्धता जनाउनुभयो । 

यसैगरि अध्यक्ष ढकालले भारत र चीनमा बिजनेस समिट आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशहरुमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको अध्यक्ष ढकालले बताउनुभयो । महासंघको तेस्रो कार्यकारिणी समिति वैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही सन्दर्भमा सुदुरपश्चिम प्रदेश सरकारसंग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक बिकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताउनुभयो । 



कार्यक्रममा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल वहादुर शाहले महासंघसंगको सहकार्यमा निर्धारित लगानी तथा बिकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनका अवसरमा सुदुर पश्चिममा लगानीको प्रतिवद्धता आउने विश्वास पनि व्यक्त गर्नुभयो । प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 

सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदुर पश्चिममा लगानीको पर्याप्त अवसर भएको तर लगानी आउन नसकेको अवस्थामा प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभयो । आगामी सम्मेलनले पनि यसमा सहयोग पुग्ने उहाँको धारणा थियो । 



कार्यक्रममा महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठ र महासंघ लगानी तथा विदेश मामिला फोरमका सभापति मनोज पौडेलले सहकार्य र सम्झौताको औचित्यमाथि आफ्नो धारणा राख्नुभएको थियो । महासंघले लगानी सम्मेलनका लागि अन्य प्रदेश सरकारहरुसंग पनि छलफल गरिरहेको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by