Apr 17, 2023
एफएनसीसीआई नवनिर्वाचित प्रतिनिधिमण्डल र अर्थमन्त्री बीच भेटवार्ता - अर्थतन्त्रको मूलभूत समस्या र समाधानका उपाय प्रस्तुत (२०८०/०१/०४)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले माननीय अर्थ मन्त्री डा. प्रकाश शरण महत समक्ष सोमवार मन्त्रालयमा बधाई भेटवार्ता गरेको छ । 

अध्यक्ष ढकालले सो अवसरमा नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण सिर्जित समस्याबाट गुज्रिरहेकाले समाधानका लागि ठोस पहल आवश्यक रहेको बताउनुभयो । विगतभन्दा यसपटक उद्यमी व्यवसायी र सर्वसाधारण पनि अर्थतन्त्रको अवस्था देखेर ससंकित भएको कारण बजारमा लामो मन्दीको अवस्था सिर्जना हुन सक्ने भएकाले अर्थतन्त्रमा अहिलेको संकट समाधानका लागि मन्त्रालयले ठोस पहल गर्नुपर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष ढकालले अहिले बैंकदर कम गर्नुका साथै अन्य उपकरणको प्रयोग गरि ब्याजदर घटाउनु पर्ने सुझाव दिनुभयो । बजारमा माग नहुंदा निर्माण क्षेत्र, सवारी साधन विक्रि वितरण, घर जग्गा कारोबार, सेयर बजार लगायतका क्षेत्र आधा भन्दा कम क्षमतामा चलिरहेको र त्यसको प्रत्यक्ष प्रभाव राजश्व संकलनमा समेत देखिएको अध्यक्ष ढकालले बताउनुभयो । 

अव अवस्था सहज वनाउन सरकारले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने बातावरण वनाउनै पर्ने सुझाव अध्यक्ष ढकालले दिनु भयो । 

अध्यक्ष ढकालले वाह्य लगानी ल्याउन प्रक्रियागत सुधार गर्नुपर्ने, कर्जा प्रवाह बढाउन पहल गर्नुपर्ने, पूँजीगत खर्च कटौती गर्नुपर्ने, विद्युत क्षेत्रमा सुधार गरिनु पर्ने, मूल्य नियन्त्रण गरिनुपर्ने र निर्यातलाई प्रोत्साहन गरिनुपर्ने सुझाव पेश गर्नुभयो । यसैगरि चैत्र मसान्तसम्म रहेको करको मिसम्याचको म्याद थप गरिनु पर्नेमा उहाँले जोड दिनुभयो । 

साथै, अध्यक्ष ढकालले निजी क्षेत्रलाई सम्मान गर्ने परिपाटिको बिकास गर्नु पर्ने बताउनु भयो । 



सो अवसरमा अर्थमन्त्री डा महतले महासंघकातर्फबाट राखिएका सुझावलाई कार्यान्वयन गर्न महासंघसंग नियमित सम्वाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो । उहाँले व्याजदरको विषयमा राष्ट्र बैंक र बैंकर्स संघसंग सकारात्मक छलफल भएको जानकारी पनि गराउनुभयो । मन्त्री डा महतले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने विश्वास दिलाउनु भयो ।  

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मन्दीको समयमा सरकारले खर्च बढाउनुपर्नेमा नियन्त्रण गरिएकाले समस्या समाधान नभएको वताउनुभयो ।  

महासंघको प्रतिनिधिमण्डलमा अध्यक्ष ढकाल सहित नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ लगायत कार्यकारिणी समिति सदस्यहरुको सहभागिता थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by