Aug 01, 2022
वस्तुगत संघका नवनिर्वाचित टिमलाई महासंघमा बधाई – वस्तुगत संघहरूलाई विज्ञ क्षेत्रकोरूपमा विकास गरी लैजाने–अध्यक्ष गोल्छा (२०७९/०४/१६)

सदस्य वस्तुगत संघहरूलाई बिज्ञ क्षेत्रको रूपमा विकास गर्दै जाने नीति नेपाल उद्योग वाणिज्य महासंघको रहेको कुरा अध्यक्ष शेखर गोल्छाले बताउनु भएको छ । 

वस्तुगत संघका नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीरूलाई बधाई दिन महासंघले आइतवार आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्नुहुंदै अध्यक्ष गोल्छाले आफ्ना क्षेत्रमा हरेक वस्तुगत संघहरु विज्ञ रहेकाले सोही अनुसार वस्तुगत संघहरुलाई विकास गरी लैजाने योजना महासंघको रहेको सुनाउनु भयो ।

कार्यक्रममा रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल, नेपाल एसोसिएसन अफ र्‍याफटिङ एजेन्सिज् (नारा), नेपाल डेरी एसोसिएशन, नेपाल सौर्य विद्युत उत्पादक संघका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारीहरू हुनुहुन्थ्यो । 

विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने महासंघमा सदस्य वस्तुगत संघहरूको संख्या १ सय २० भन्दा माथि रहेको र मुलुकको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रहरूलाई समेत यिनले प्रतिनिधित्व गर्दछन् । 

वस्तुगत संघहरू मुलुकको अर्थतन्त्रका बलिया खम्वा हुन अध्यक्ष गोल्छाले भन्नु भयो, अर्थतन्त्रको अधिकांश हिस्सामा हाम्रै सदस्य वस्तुगत संघहरूको प्रतिनिधित्व रहेको छ ।

समस्यारहित ढंगवाट निजी क्षेत्रले काम गर्न पायो भने उद्योग व्यवसाय विस्तार, रोजगारी सिर्जना गर्न, लगानी तथा प्रविधि आकर्षण, पूंजी वृद्धिमा समेत सहयोग पुग्ने थियो तर यो क्षेत्रले पछिल्लो पटक निकै दवावको महशुस गर्नु परेको उहाँले बताउनु भयो ।

संघीय सरकारको वार्षिक बजेट तथा केन्द्रीय बैंकको मौद्रिक नीति आइसकेको छ । बजेट तथा मौद्रिक नीतिमा हाम्रा सुझाव सोचे जस्तो समेटिन सकेनन । मौद्रिक नीति पनि कसिलो खालको आयो । पूंजीको अभाव कम गर्ने ठोस उपाय नहुंदा निजी क्षेत्रलाई मौद्रिक नीतिले उत्साहित बनाउन सकेन, अध्यक्ष गोल्छाले भन्नुभयो ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका ठोस उपाय मौद्रिक नीतिले समेटन नसकेको गुनासो उहांको थियो । संकुचित नीतिका कारण निजी क्षेत्रको लगानी पनि संकुचित हुने र यसले ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतिपूर्ण रहेको तर्क उहांको थियो । 

सम्मानित निजी क्षेत्र समुन्नत नेपाल अभियानलाई सफल पार्न महासंघको सिंगो संजालनै परिचालित हुनुपर्नेमा उहांको जोड थियो । 

महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघाईले महासंघले सदस्यहरूको संस्थागत विकासलाई पहिलो प्राथमिकता दिई कार्य गरिहेको बताउनुु भयो । महासंघले अगाडी बढाएको नेट २०३० लाई सफल पार्न वस्तुुगत संघहरूको सहयोग अपरिहार्य रहेकोमा उहांहरूको जोड थियो । 



निर्वाचित सदस्य संघका अध्यक्षबाट मन्तव्य राख्ने क्रममा रसायन तथा मेडिकल आपूर्ति संघ, नेपालका अध्यक्ष भक्त बहादुर हमालले मेडिकल क्षेत्रलाई दिएको भ्याट छुट र न्यूनतम भंसार महशुलको सुविधा यो क्षेत्रले पनि पाउनु पर्ने र यसमा सहयोग गर्न महासंघलाई आग्रह गर्नुभयो । सर्जिकल उपकरण आयात गर्दा विना दर्ता नै आयात गर्न दिने कार्य हुंदा सरकारको नीति, कानुन र विधिमा रहेर संचालन भएका व्यवसायीहरूलाई प्रत्यक्ष असर पर्न गएकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा उहांको जोड थियो । 



नेपाल एसोसिएसन अफ र्‍याफटिङ एजेन्सिज् (नारा) का अध्यक्ष शिव अधिकारीले नेपालको पर्यटन क्षेत्रको महत्वपूर्ण स्तम्भकोरूपमा रहेको जलयात्रा व्यवसाय नदीनालाहरूमा बढ्दै गएको अतिक्रमण विशेष गरेर जलविद्युत वांध तथा नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले र्‍याफटिङ व्यवसाय संकटमा पर्दै गएको गुनासो गर्नुभयो । अध्यक्ष अधिकारीले र्‍याफटिङ व्यवसायको संरक्षणमा महासंघले सहयोग गर्नुपर्ने सुझाव राख्नु भयो ।

 
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले महासंघले वस्तुगत संघहरूका समस्या समाधानमा सशक्तरूपमा सहयोग गर्नुपर्ने धारणा राख्नु भयो । 



नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष प्रकाश विक्रम वस्नेतले नेपालले जलविद्युत क्षेत्रमा मात्र भर पर्ने भन्दा पनि सौर्य उर्जालाई पृष्ठ उर्जा शक्तिको रुपमा विकास गरी लैजानु पर्ने बताउनु भयो । अहिले पनि मुलुकभरका २ लाख घरधुरी विद्युत विना अन्धकारमा बस्न बाध्य भएकाले सरकारले आवश्यक सहयोग गरेमा ६ महिनाभित्र सवै घरलाई उज्यालो बनाउन सकिने योजना आफूहरूसंग रहेको उहाँले दावी गर्नुभयो । सौर्य उर्जाको उचित विकासका लागि महासंघले सरकारको सम्बन्धित निकायमा पहल गर्नुपर्नेमा उहाँको जोड थियो ।  

कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, वस्तुगत संघका अध्यक्षहरू, उद्यमी व्यवसायीहरूको उपस्थिति थियो । महासंघले आफना सदस्य संघका नवनिर्वाचित पदाधिकारीहरूलाई नियमित रुपमा कार्यक्रमको आयोजना गरी बधाई एवं शुभकामना दिंदै आएको छ । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by