Apr 10, 2020
उद्योग वाणिज्य दिवस-२०७६ का अवसरमा नेउवामहासंघका अध्यक्षबाट शुभकामना सन्देश (२०७६/१२/२८)


उद्योग वाणिज्य दिवस–२०७६ का अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री भवानी राणाले आज एक शुभ–कामना सन्देश जारी गर्दै सबैमा हार्दिक शुभ–कामना व्यक्त गर्नुभएको छ । महासंघका अध्यक्ष राणाद्वारा जारी शुभ–कामना सन्देश यसप्रकार छः 

नेपाल उद्योग वाणिज्य महासंघ स्थापनाको दिन चैत्र २८ गतेलाई महासंघले हरेक वर्ष उद्योग वाणिज्य दिवसको रूपमा मनाउंदै आएको छ । निजी क्षेत्रको लागि आजको पावन अवसरमा महासंघका सबै सदस्य संघ/संस्थाहरू, यससंग आवद्ध उद्यमी व्यवसायीहरू, उद्योग व्यवसायको महत्वपूर्ण अंगको रूपमा रहेका श्रमिक तथा कामदार साथीहरू, मुलुकभित्र र बाहिर रही मुलुकको उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको उत्थानमा निरन्तर क्रियाशिल समुदाय, महिला उद्यमीहरू सहित आम नेपाली दाजुभाई तथा दिदी वहिनीहरूमा महासंघको अध्यक्षको तर्फबाट हार्दिक शुभ–कामना व्यक्त गर्दछु । व्यवसायिक सफलता एवं मुलुकको अर्थतन्त्रको सुरक्षा एवं प्रगतिको कामना गर्दछु । 

निश्चयनै आजको समय अत्यन्त कठिन छ । यतिखेर सिंगो मानवजाती र महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बीच ठूलो संग्राम भैरहेको छ । ठूलो मात्रामा विश्वमा जनधनको क्षति भएको छ । नेपाल पनि त्यसबाट प्रभावित भैरहेको छ । उद्योग व्यवसाय ठप्प छ । अर्थतन्त्रका महत्वपूर्ण आधारहरू, विप्रेषण, पर्यटन लगायत सेवा क्षेत्र नराम्ररी थलिएको छ भने अन्य उद्योग व्यवसाय पनि ग्रसित भैरहेका छन् । सरकार, निजी क्षेत्र र आम जनसमुदाय मुलुकभित्र कोभिड–१९ को महामारी फैलन नदिन लडीरहेको छ । विशेष गरी महामारी रोकथाममा आफ्नो स्वास्थ्यको समेत परवाह नगरी अहोरात्र फ्रन्ट लाइनमा रहेर खटिरहेको स्वास्थ्य क्षेक्रको जनशत्ति, सुरक्षा निकायप्रति नमन गर्दै उहाहरूप्रति सिंगो निजी क्षेत्र आभार प्रकट गर्दछ । अझै पनि हाम्रा अगाडी निकै ठूलो चुनौती छ । सम्भावित चुनौतीसंग लड्न सरकार, निजी क्षेत्र सहित सिंगो मुलुकनै एक ढिक्का भएर जानुको विकल्प छैन । यो जटिल परिस्थितिमा निजी क्षेत्र उच्च व्यवसायिक निष्ठाका साथ क्रियाशिल भई सरकारलाई साथमा साथ दिन तयार छ ।

आजको यस पावन अवसरमा सम्भावित चुनौतीसंग लडदै मुलुकभित्रका आम नागरिकको स्वास्थ्य सुरक्षा तथा अर्थतन्त्रको सुरक्षामा हामी सबैलाई सफलता मिल्ने पूर्ण विश्वासका साथ पुनः एक पटक उद्योग वाणिज्य दिवस–२०७६ का अवसरमा सबैमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by