Mar 20, 2020
पूर्व अर्थ मन्त्रीहरुको भेलाको वक्तव्य

मुलकको आर्थिक विकास र अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका सरोकारवालाहरुसंग नियमित बहस चलाई आर्थिक विकासमा सार्थक योगदान पुरयाउने उद्देश्यले आज मिति २०७६ साल चैक्र ७ गते, शुक्रवार सम्पन्न पूर्व अर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, माननीय सुरेन्द्र पाण्डे, माननीय वर्षमान पुन र माननीय ज्ञानेन्द्र बहादुर कार्कीको भेलाले पूर्व अर्थमन्त्री विचार मंच (Former Finance Ministers' Forum) गठन गर्ने निर्णय गरेको छ । विशेष परिस्थितिवश माननीय डा. वावुराम भट्टराई, माननीय विष्णु पौडेल र महेश आचार्य उपस्थित हुन सक्नु भएन । 



यस बिचार मंच गठनका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र वर्तमान पदाधिकारीहरूको सहयोग र सद्भाव रहेको छ । भेलामा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान र चन्द्र प्रसाद ढकाल, महासंघका महानिर्देशक धरणीधर खतिवडाको उपस्थिति रहेको थियो ।

यस विचार मंचले तपशीलका निर्णयहरु गरेको छ ।

निर्णयहरूः

>> मंचका माध्यमबाट अर्थतन्त्र तथा विकासका समग्र पक्षसंग जोडिएका विषयमा सरोकारवालाहरुसंग नियमित छलफल चलाई त्यसको समाधानका लागि सार्थक पहल गर्ने,

>> कोभिड १९ बाट उत्पन्न हुन सक्ने स्वास्थ्य एवं आर्थिक पक्षका जोखिमहरुलाई न्यून गर्न सरकारले स्वास्थ्यका क्षेत्रमा जनचेतनामूलक, नियन्त्रणात्मक एवं उपचारात्मक कार्यक्रमलाई जनता समेतलाई साथमा लिई अझ प्रभावकारी ढंगबाट संचालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, 

>> कोभिड १९ बाट राष्ट्रिय अर्थतन्त्रका विविध पक्षमा पर्न सक्ने प्रतिकुल प्रभावलाई न्यूनिकरण गर्न र बढी प्रभावित अर्थतन्त्रका क्षेत्रहरुका लागि राहत प्याकेज तत्काल ल्याउन सरकारलाई अनुरोध गर्ने, 

>> कोभिड १९ बाट उत्पन्न विपत्तिको अवस्थामा आदरणीय जनसमुदाय तथा व्यवसायिक क्षेत्रका सवै सरोकारवालाहरुलाई अधिकतम सचेतना अपनाउन आग्रह गर्ने,

>> यस मंचको गठनमा नेपाल उद्योग वाणिज्य महासंघ, यसका वर्तमान पदाधिकारीहरू तथा सभासद विमल केडीयाले गर्नु भएको प्रयासका लागि धन्यवाद दिने ।
 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by