Feb 28, 2020
रोजगारदाताहरूको दक्षिण एशियाली मंच(सेफ)को बैठक काठमाडौंमा प्रारम्भ (२०७६/११/१६)

रोजगारदाताहरूको दक्षिण एशियाली मंच (South Asian Forum of Employers-SAFE) को नवौं बैठक आजदेखि काठमाडौंमा शुरू भएको छ । 

काठमाडौंको चन्द्रागिरी रिसोर्टमा शुरू उक्त मंचको बैठकमा नेपाल सहित भारत, वंगलादेश, पाकिस्तान, श्रीलंकाका रोजगारदाता संगठनहरू, अन्तराष्ट्रिय श्रम संगठन (ILO) को नेपाल र दिल्ली कार्यालय र नेदरल्याण्ड रोजगारदाता सहयोग कार्यक्रम (Dutch Employers Cooperation Program-DECP) का पदाधिकारीहरूको सहभागिता रहेको छ । बैठक नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यता, आईएलओ र डीइसीपीको सहयोगमा आयोजना भएको हो । 



बैठकलाई संवोधन गर्नुहुंदै नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद सभापति एवं महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सेफको नबौ बैंठक नेपालमा आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्नुभयो । उपाध्यक्ष ढकालले आर्थिक एवं सामाजिक जीवनस्तरमा समेत समान अवस्था रहेको दक्षिण एशियाली क्षेत्रलाई आगामी दिनमा आर्थिक विकास, लगानी आकार्षणका हिसावले मुख्य गन्तव्यको रूपमा विकास गर्न संयुक्त सहकार्यमा जोड दिनुहुंदै यसको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने बताउनु भयो । 

रोजगारदाता परिषद्का सभापति ढकालले सेफ जस्तो मंचबाट यस क्षेत्रका रोजगारदाता संगठनहरूले अनुभव र आफ्नो देशमा संचालन गरिरहेका कार्यक्रमबाट लाभ लिनुका साथै यस क्षेत्रका देशले भोग्नु परिरहेका साझा समस्याको समाधान निकाल्न मद्यत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बैठकमा रोजगारदाता परिषद्का सहसभापति भरत आचार्य, महासंघका महानिर्देशक धरणीधर खतिवडा, आइएलओ नेपालका देशिय निर्देशक रिचार्ड हवार्ड, (Mr Richard Howard, Country Director, Nepal)  राष्ट्रिय कार्यक्रम संयोजक प्रकाश शर्मा, आइएलओ दिल्लीका रविन्द्र पेरिस (Mr. Ravindra Peris, ILO/ACTEMP, New Delhi) ले पनि भाग लिइरहनु भएको छ । 

भोलीसम्म चल्ने बैठकको अध्यक्षता सेफका वर्तमान अध्यक्ष मजिद अजिज (Mr. Majyd Aziz, President, SAFE) ले गर्नुभएको छ भने बैठकमा गएको एक वर्षमा सेफले गरेका महत्वपूर्ण कार्यक्रम, राष्ट्रिय तथा क्षेत्रीय रूपमा श्रम रोजगारदाता सम्बन्धी नीति निर्माणमा रोजगारदाता संगठनहरूको भूमिका, सेफको आगामी अध्यक्ष चयन, रोजगारदाता संगठनहरूको गतिविधि, आइएलओ र डीईसीपी बीचको सहकार्य एवं भावी योजना तथा सेफको आगामी बैठक विषयमा छलफल तथा निर्णय हुने कार्यक्रम छ । 

सोही समारोहमा आइएलओ नेपाल कार्यालय, ग्लोवल आइएमई बैंक र महिला उद्यमी महासंघ नेपाल बीच नेपालमा महिला उद्यमशीलता विकासमा सहकार्य गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौता (Memorandium of Understanding-MoU) समेत भएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by