Dec 27, 2019
यूनानको प्रतिनिधिमण्डल महासंघ सचिवालयमा - नेपालमा औषधि उद्योगका क्षेत्रमा लगानी गर्न चिनियाँहरू उत्सुक (२०७६/०९/११)

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङ (Mr. Wang Zhirong, Vice Chairman of Younnan Provincial Federation of Industry and Commerce) को नेतृत्वमा नेपाल भ्रमणमा आएको ७ सदस्यीय चिनियाँ व्यावसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भयो । 

सो भेटवार्तामा नेपाली र चिनियाँ उद्यमी व्यवसायी बीच नेपाल-चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भयो । सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपालमा औषधि उद्योगका क्षेत्रमा रहेको सम्भाव्यता अध्ययन गर्न भ्रमण भएको स्पष्ट पारिएको थियो ।  

बैठकमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष प्रधानले नेपालमा यतिखेर लगानीका लागि सवैभन्दा उपयुक्त समय भएकाले चिनियाँहरूलाई लगानीका लागि आग्रह गर्नुभयो । नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदार र वैदेशिक लगानीका हिसावले समेत सबैभन्दा बढी लगानी गरीरहेको छिमेकी राष्ट्र चीनबाट अझै धेरै लगानीको अपेक्षा गरेको स्पष्ट पार्नुभयो । दुवै देशका सम्माननीय राष्ट्रपतिज्यूहरूबाट भएको आपसी औपचारिक भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप मजवुद हुनाको साथै लगानीको वातावरणमा समेत सहयोग पुगेको उहाँले बताउनु भयो । 

नेपालमा खासगरी औषधि उद्योगका क्षेत्रमा लगानीको सम्भाव्यता अध्ययन गर्न आएको उक्त प्रतिनिधिमण्डल समक्ष महासंघका तर्फबाट औषधि, सिमेन्ट, कृषि, पूर्वाधार (सडक, पुल, टनेल, एयरपोर्ट), पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरियो । छलफलमा वातावरणीय हिसावले समेत नेपालमा औषधि उद्योग, अस्पताल लगायत स्वास्थ्य क्षेत्रमा चिनियाँ लगानी र प्रविधि आउन सके दुवै देश लाभान्वित हुने धारणा राखिएको थियो ।     

सो अवसरमा चिनियाँ पक्षबाट नेपाल र यूनान प्रान्त बीचको आपसी सम्बन्ध थप प्रगाढ बन्दै गएको बताइयो । यूनान प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पूँजी मार्फत नेपालको विकासमा सहयोग गर्न तिव्र इच्छा व्यक्त गरियो । प्रतिनिधिमण्डलका नेता एवं चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङले नेपालको विकासमा सहयोग गर्न आतुर रहेको स्पष्ट पार्नुभयो । यस पटकको भ्रमण नेपालमा औषधि उद्योग क्षेत्रमा सहकार्यका सम्भाव्यता अध्ययन गर्न भएको स्पष्ट पार्दै यहाँबाट फर्केपछि त्यस विषयमा थप छलफल गरी परियोजना ल्याउने धारणा राख्नुभयो । 



भेटवार्तामा महासंघका महानिर्देशक धरणीधर खतिवडा, पूर्व कार्यकारिणी समिति सदस्य प्रदीपमान वैद्य, महासंघको सदस्य संघ सँस्थाका प्रतिनिधिहरू, चीनसंग व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू, महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो  ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by