Dec 13, 2019
महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न (२०७६/०८/२७)

नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा आज महासंघ सचिवालयमा महिला ऊद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम आयोजना गरियो । 

कार्यत्रमलाई संवोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मुलुकभित्र महिला उद्यमशीलता विकास विस्तार गर्न वित्तिय संस्थाहरूको सहयोग अपरीहार्य रहने हुंदा महासंघ र सनराइज बीचको सहकार्यमा भएको यस कार्यक्रमले निकै ठूलो सहयोग पुर्‍याउने र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 



महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले कार्यक्रमको महत्व हेरेर महासंघले बैंकको सहकार्यमा सातै प्रदेशमा यस प्रकारको कार्यक्रम लैजाने र बैंकले उद्यमी व्यवसायीहरूलाई उपलव्ध गराउने बैंकिङ कर्जा/सहुलियतका विषयमा हाते पुस्तिका समेत प्रकाशन गर्ने बताउनु भयो । 

महासंघका महानिर्देशक धरणीधर खतिवडाले आर्थिक रूपमा महिलालाई शसक्तिकरण गर्न नसकेसम्म एउटा घर, समाज र राष्ट्र समुन्नत हुन नसक्ने हुंदा महिलाको आर्थिक सशक्तीकरणमा सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । 

सन्राइज बैंककका नायव प्रमुख कार्यकारि अधिकृत आशा अधिकारीले सरकारले उद्योग व्यवसायलाई दिएको सहुलियत कर्जा सुविधाका विषयमा उद्यमी व्यवसायीहरूलाई जागृत गराउने उद्देश्यले आयोजना भएका यस्ता कार्यक्रमबाट लाभ उठाउन महिला उद्यमीहरूलाई आग्रह गर्नु भयो । 

कार्यक्रममा बैंकका विजनेश बैकिङ विभागका प्रमुख हरिप्रसाद आचार्य र व्यापार भुक्तानी विभागका प्रमुख विष्णु प्रसाद उप्रेतीले महिला उद्यमीहरूका लागि सहुलियतपूर्ण कर्जा सम्बन्धी प्रस्तुती दिनु भएको थियो । कार्यक्रममा करिव ५० जना महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by