Dec 07, 2019
अध्यक्ष राणाद्वारा शिल्क रोड व्यवसायिक सम्मेलनलाई सियानमा संवोधन (२०७६/०८/२१)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले शिल्करोड चेम्वर इन्टरनेशनल कमर्स (Silk Road Chamber of International Commerce) को आयोजनामा हिजोदेखि चीनको सियानमा चलिरहेको शिल्क रोड व्यवसायिक सम्मेलन (2019 Silk Road Business Summit) लाई आज संवोधन गर्नुभयो ।
 
चीनले अगाडी सारेको वेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) मा सामेल करिव पांच दर्जन भन्दा बढी देशका सरकारी तथा व्यवसायिक नेताहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त अन्तराष्ट्रिय सम्मेलनमा प्रोजेक्टस् एण्ड दी सस्टेनेवल डिभलपमेन्ट अफ बेल्ट एण्ड रोड इनिशिएटिभ (Projects and the sustainable development of Belt and Road Initiative) विषयक विशेष शत्रलाई नेपाली निजी क्षेत्रको तर्फबाट संवोधन गर्नुहुंदै अध्यक्ष राणाले चीन तथा समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास हुने नेपालको चाहनालाई सहयोग गर्न आग्रह गर्नुभयो ।  



आर्थिक रुपमा सशक्त भारत तथा चीनको बीचमा अवस्थित नेपालका अगाडी थुप्रै सम्भावना रहेको बताउनु हुंदै अध्यक्ष राणाले बीआरआई मार्फत नेपाललाई चीन तथा समग्र दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास गर्न सकिने स्पष्ट पार्नुभयो । यद्यपी नेपाल भुपरिवेष्ठित मुलुक भएपनि रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको कारण आर्थिक रूपमा बलिया दुई शक्तिशाली छिमेकीहरूसंग आफूलाई भूजडित मुलुकको रूपमा विकास गर्दै चीन तथा समग्र दक्षिण एशियाबाट नेपालले फाइदा उठाउन सक्ने दावी गर्नुभयो ।

दक्षिण एशियामा लगानी आकर्षणमा ठूलो सम्भाव्यता रहेको उल्लेख गर्नुहुंदै अध्यक्ष राणाले वीआरआई मुलुकहरूले नेपालको समृद्ध कला, संस्कृति पर्यटनका साथै नेपालको करिव ३ करोडको बजार तथा चीन तथा भारतमा रहेको करिव ३ अर्व जनसंख्याको बजारबाट निकै ठूलो लाभ हासिल गर्न सक्ने सम्भाव्यता औल्याउनु भयो । भौगोलिक विकटता तथा अन्तराष्ट्रिय वजारसम्मको सहज पहुंचको अभाव भोग्दै आएको नेपालका लागि बीआरआईले बाह्य बजार र अर्थतन्त्रसंग जोडिने सम्भावनाको ढोका खोलिदिएको पनि अध्यक्ष राणाले बताउनु भयो ।

आज पनि नेपालको प्रमुख व्यापारिक साझेदार तथा लगानीका हिसावले समेत सवैभन्दा बढी लगानी चीनबाटै रहेको स्पष्ट पार्नुहुंदै उहांले नेपालमा लगानी गरिरहेका चिनिया कम्पनीहरू सिनो हाइडो, जेटटीई, चाइना थ्री गर्जेज कर्पोरेशन, हुवाये, टिवेट एयरलाइन्स, होङ्गसीले निकै राम्रो व्यवसाय गरीरहेको अन्तराष्ट्रिय समुदाय समक्ष जानकारी गराउनु भयो । उर्जा, पूर्वाधार विकास, पर्यटन सहित अन्य सम्भावित क्षेत्रहरूलाई नेपालले प्रमुख लगानी आकर्षण क्षेत्रको रूपमा पहिचान गरेको स्पष्ट पार्नुहुंदै कृषि, कृषि तथा खाद्य प्रशोधन, प्योकजिंग, पशुपंक्षी, हर्वल उद्योग, चिया तथा कफी, हर्वल उत्पादनहरू, हस्तकला लगायतका क्षेत्रमा पनि लगानीको ठूलो सम्भाव्यता रहेको बताउनु भयो ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा नेपालमा पर्यटनको अपार सम्भाव्यता रहेको र यस क्षेत्रमा बीआरआई अन्तरगतका मुलुकहरूबाट लगानी आउन सके ठूलो लाभ उठाउन सकिने समेत उहांले स्पष्ट पार्नुभयो । पर्याप्त जनशक्ति तथा औद्योगिक विकासका लागि चाहिने आधुनिक प्रविधिको अभावका कारण नेपालले सस्तो श्रम शक्ति र यूवा जनसंख्याको वाहुल्यता रहेपनि अहिलेसम्म पनि अन्तराष्ट्रिय मूल्य श्रृंखलामा जोडिन नसकेको अध्यक्ष राणाले बताउनु भयो ।

सडक, रेल, व्यापार सहजीकरणका लागि आवश्यक अन्य महत्वपूर्ण पूर्वाधार अभावका कारण विश्कै सर्वोत्कृष्ट पर्यटकीय क्षेत्र रहदा रहंदै पनि नेपालले पर्यटन लगायत नेपाली उत्पादनहरूलाई अन्तराष्ट्रिय बजारसम्म एकिकृत गर्न नसकेको यथार्थता सो अवसरमा राख्नु भयो । बीआरआई अन्तरगत पूर्वाधार विकास जस्तो होटल, एयरपोर्ट, सडक, रेलवे, केवल कार, सपिङ मल लगायतमा लगानी गरी नेपालको पर्यटन विकासबाट चीन सहित र वीआरआई मुलुकहरूले लाभ उठाउन सक्ने बताउनु हुंदै नेपालमा व्यापार तथा वैदेशिक लगानीलाई सहज बनाउन चीन तथा बीआरआई मुलुकहरूबाट बैंक शाखाहरू खोल्नु पर्ने सुझाव उहांको थियो ।
 
बीआरआईको भरपुर उपयोग गरी नेपाली बजारलाई चीनको बजारसम्म जोड्नु पर्ने र यसका लागि चीनले उपलव्ध गराउने भनिएका सुख्खा तथा समुद्री वन्दरगाहको उपयोगमा सहयोग गर्नुपर्ने सुझाव अध्यक्ष राणाले सो अवसरमा दिनु भयो । ई-कमर्सको भरपुर उपयोगबाट वाह्य संसारले हासिल गरीरहेको लाभमा नेपाललाई पनि जोडन अन्तरसिमा ई-कमर्सलाई बढावा दिनुपर्ने, बीआरआई अन्तरगत अन्तराष्ट्रिय सूचना संजालमा नेपाललाई जोडन सहयोग गर्नुपर्ने,गैर भंसार अवरोधलाई हटाउनु पर्ने, नेपाली निर्यात प्रवर्द्धन गर्न चीनले उपलव्ध गराएको विशेष सहुलियत तथा शून्य भंसार सुविधाको भरपुर उपयोग गर्नुपर्ने धारणा उहांले राख्नु भयो । नेपालको पूर्वाधार विकासमा बीआरआई अन्तरगत शिल्करोड कोष, एशियन पूर्वाधार विकास बैक, चाइना इक्जिम बैकको लगानी आकर्षण तथा उपयोगमा सहयोग गर्न पनि अध्यक्ष राणाले आग्रह गर्नुभयो  । 



निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सदस्यहरू मार्फत दीगो विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुरयाइरहेको कुरा अन्तराष्ट्रिय समुदाय समक्ष अध्यक्ष राणाले जानकारी गराउनु भयो । आफ्नो संवोधनका क्रममा अध्यक्ष राणाले दीगो विकासका लक्ष्यहरू हासिल गर्न विशेष गरी नयां र नविनतम उद्यमशीलता विकास, मुल्य अभिवृद्धि हुने खालका कृषि उत्पादनहरूको विकास तथा खाद्य प्रशोधन, निर्यात प्रवर्द्धन, प्राकृतिक स्रोतमा आधारित उद्योगहरू, शिक्षा, महिलाहरूमा पूजीको पहुचमा सहजता, जलसम्पदाको व्यापक उपयोग, उर्जा, सरसफाई, रोजगारी सृजना, पूर्वाधार निर्माण, शहरीकरण, स्मार्ट शहर विकास, वातावरण तथा जलवायु परिवर्तनका क्षेत्रमा विशेष पहल हुन आवश्यक रहेको बताउनु हुंदै सम्मेलनका सहभागीहरूलाई नेपाल भ्रमणको निम्तो सहित नेपालको विकास प्रयासमा सहयोग गर्न आग्रह समेत गर्नुभयो । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by