Sep 16, 2019
सेजन नवनिर्वाचित टिमको सम्मानमा महासंघद्वारा स्वागत  कार्यक्रम आयोजना  (२०७६/०५/३०)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल आर्थिक पत्रकार समाजका नवनिर्वाचित पदाधिकारी एवं कार्य समिति सदस्यहरूको सम्मानमा आज काठमाडौंमा बधाई एवं स्वागत कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित टिमलाई माला र खादा लगाई सम्मान गर्नुभयो । 
सो अवसरमा महासंघका अध्यक्ष राणाले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र आर्थिक क्षेत्रमा कलम चलाउने संचारकर्मीहरूको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो । सेजनको स्थापनादेखिनै महासंघ र सेजन बीच संस्थागत सहकार्य रहेको बताउनु हुंदै अध्यक्ष राणाले मुलुकभित्र आर्थिक विकासको वातावरण बनाउन आगामी दिनमा दुवै संस्थाबीच अझ बढी सहकार्य गर्दै जाने विश्वास दिलाउनु भयो । सेजनको नयां टिमसंग बसेर आगामी दिनका सहकार्यका योजना ल्याउने अध्यक्ष राणाले प्रतिवद्धता जनाउंदै नवनिर्वाचित टीमको कार्यकालको सफलताको कामना गर्नुभयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले दुवै संस्थाको कार्यक्षेत्र एकै भएकाले मुलुकभित्र आर्थिक व्यवसायिक वातावरण निर्माणमा दुवै संस्था बीच हातेमालो आवश्यक भएकोमा जोड दिनुभयो । निजी क्षेत्रले आर्थिक व्यवसायिक महौल सृजनाका लागि गरेका प्रयासमा तपाई आर्थिक पत्रकारिता क्षेत्रमा कलम चलाउने संचारकर्मीहरूको दरिलो साथ पाउने विश्वास महासंघले लिएको छ, वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नु भयो ।


सेजनका नव निर्वाचित अध्यक्ष भीम गौतमले महासंघले आयोजना गरेको स्वागत एवं सम्मानका लागि आभार व्यक्त गर्नुभयो । दुवै संस्थाको लक्ष्य मुलुकको आर्थिक समृद्धिका लागि पहल गर्ने रहेकोले आर्थिक क्षेत्रको धेरै पाटोमा सहकार्य गर्न सकिने धारणा अध्यक्ष गौतमले राख्नुभयो । अध्यक्ष गौतमले सेजन र महासंघको सहकार्यमा विभिन्न कार्यहरू गर्ने चाहाना रहेको बताउनुहुँदै स्थानीय निकायमा बन्दै गरेका नीति, नियमका विषयमा स्थानीय तहमा छलफल चलाउने र केन्द्रीय तहमा पनि महत्वपूर्ण आर्थिक मुद्दाहरूमा सहकार्य गर्ने प्रस्ताव राख्नुभयो । 


कार्यक्रममा महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरू किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरू, सेजनाका पदाधिकारी, कार्य समितिका सदस्यहरू, महासंघ सचिवालयका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by