Oct 15, 2018
                        
                        
                                                
 
                        
                                                       
रसियाको मास्कोमा हालै नेपाल फेस्टिवल (Nepal Fest 2018) भव्यरूपमा सम्पन्न भयो । मेला, नेपाली राजदुतावास मस्को र एनआरएन रसियाको संयुक्त आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको संयोजनमा असोज १९ देखि २१ गते (5-7 October 2018) सम्म रसियाको राजधानी मस्कोमा आयोजना गरिएको थियो । तीन दिनसम्म चलेको उक्त मेलामा १५ हजारभन्दा बढी रसियनहरूले अवलोकन गरेका थिए । 
नेपाल-रसिया दौत्य सम्बन्ध स्थापना भएको ६१ औं वर्ष गाँठका अवसरमा नेपालबाट रसियामा निर्यात हुन सक्ने नेपाली वस्तुहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त मेलाको मुख्य आकर्षण विक्री तथा प्रदर्शनी रहेको थियो । 
रसियाका लागि नेपाली राजदुत ऋषिराम घिमिरे, एनआरएन रसियाका अध्यक्ष रामेश्वर गौतम र महासंघको मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले संयुक्त रूपमा असोज १९ गते एक विशेष समारोहका बीच मेलाको उद्घाटन गर्नुभएको थियो । 
नेपालबाट उक्त मेलामा विशेष गरी हस्तकला, गार्मेण्ट, कार्पेट, चाँदीका गहना, पश्मिना, फेल्ट उत्पादनहरू राखिएको थियो भने ती वस्तुहरूको प्रतिनिधित्व गर्ने संघहरूबाट २० वटा स्टल सहित ३८ जना उद्यमी व्यवसायी प्रतिनिधिहरुले भाग लिएका थिए । 
सोही समयमा नेपाली राजदुताबास मस्कोको आयोजनामा नेपाली व्यवसायी प्रतिनिधिमण्डल र रसियन व्यवसायीहरु बीच आपसी भेटवार्ता समेत सम्पन्न भयो । मेला अवधिमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने गरी विभिन्न साँस्कृतिक प्रस्तुति, नेपाली खाना तथा नेपाल सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 
मेला पश्चात् बिक्री नभएका सबै सामानहरू रसियन व्यवसायीहरूले खरिद गरेका थिए । मेला अवधिभर रसियनहरूले नेपाली स्टलहरूको अभिरूचीपूर्वक अवलोकन गर्नुका साथै आपसी सहकार्यका विषयमा छलफल समेत गरेका थिए । त्यसअघि मेलामा भाग लिन महासंघको मेला समितिका सभापति श्रेष्ठको नेतृत्वमा नेपाली व्यसायीहरूको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको थियो । प्रतिनिधिमण्डलमा महासंघ सचिवालयका तर्फबाट वरिष्ठ अधिकृत सीता घिमिरे पनि सहभागी हुनुहुन्थ्यो । 
महासंघ प्रतिनिधिमण्डलबाट यूरोपको व्यवसायिक भ्रमण
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ५ का अध्यक्ष गुणनिधि तिवारीको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको एक प्रतिनिधिमण्डलले यूरोपको साताव्यापीव्यवसायिक भ्रमण सम्पन्न गर्यो । 
नेपाल र यूरोप बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भएको उक्त भ्रमणका क्रममा त्यहांस्थित विभिन्न संघ संस्था, उद्यमी व्यवसायीहरूसँग भेटवार्ता भएको थियो । प्रतिनिधिमण्डलमा महासंघका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारी, उद्यमी व्यवसायीहरू र महासंघका सहायक निर्देशक विष्णुराज ढकाल हुनुहुन्थ्यो ।