Jul 23, 2026
नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत परिषद् गठनसंगै परिषद्ले पूर्णता पाएको छ । परिषद्मा मनोनित सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गरिएसंगै परिषद्ले पूर्णता पाएको हो ।
परिषद्मा मनोनित सदस्यहरुलाई बुधवार एक कार्यक्रम बीच महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण बैध र परिषद्का सभापति नरेशलाल श्रेष्ठले औपचारिक पत्र हस्तान्तरण गर्नुभयो । परिषद्मा वस्तुगत संघ समूहबाट निर्वाचित उपाध्यक्ष सभापति रहने व्यवस्था महासंघको विधानमा छ ।
हिजै परिषद्को पहिलो बैठकबाट परिषद्को उप–सभापतिमा कार्यकारिणी समिति सदस्य भक्त बहादुर हमालाई चयन गरिएको छ । महासंघको विधानमा जिल्ला नगर, वस्तुगत र रोजगारदाता गरी तीन वटा परिषदको व्यवस्था गरिएको छ ।
मनोनयन पत्र हस्तान्तरण समारोहलाई संवोधन गर्दै कार्यबाहक अध्यक्ष वैद्यले वस्तुगत परिषद्ले निजी क्षेत्रका साझा आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाले उद्योग तथा व्यवसायसंग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवद्र्धन, उत्पादन र निर्यात विस्तार तथा निजी क्षेत्रका समस्या समाधानका लागि परिषद्ले सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्वपूर्ण रहने उहांको भनाइ थियो ।
त्यसैगरी महासंघका जिल्लानगर उपाध्यक्ष दील सुन्दर श्रेष्ठले वस्तुगत परिषद् महासंघको महत्वपूर्ण अंग रहेको उल्लेख गर्दै क्षेत्रगत रुपमा आएका समस्या समाधानमा परिषद्को महत्वूर्ण भूमिका रहने स्पष्ट पार्नुभयो ।
वस्तुगत उपाध्यक्ष एवं परिषद्का सभापति नरेशलाल श्रेष्ठले महासंघका वस्तुगत सदस्य संघहरू नै निजी क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै परिषद्ले उद्योग–व्यवसायका साझा एजेन्डालाई एकीकृत रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
उहांले परिषद्का सदस्यहरूले आ–आफ्नो क्षेत्रको अनुभव, सुझाव र नीतिगत धारणा महासंघमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरी निजी क्षेत्रको हित संरक्षण र प्रवद्र्धनमा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो ।
उहाँले वस्तुगत परिषद्का सदस्यहरुलाई विषयगत समितिको तथ्याङ्कमा आधारित रहेर अनुसन्धान गरि समस्या समाधानको लागि पहल गर्न पनि आग्रह गर्नु भयो ।
एसोसिएट उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजंग पाण्डेले मुलुकको अर्थतन्त्र अझै पनि लयमा फर्किन नसकेको, लगानीको वातावरण बन्न नसकको,वर्तमान परिवेशमा व्यावसायिक गतिविधि मार्फत अर्थतन्त्र चलायमान बनाउन परिषद्को भूमिका महत्वपूर्ण हुने धारणा राख्नु भयो ।
महासंघका कोषाध्यक्ष मनिषलाल प्रधानले परिषद् तथा समितिहरूका गतिविधिले नै महासंघलाई चलायमान बनाउने उल्लेख गर्दै परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिदै अर्थतन्त्र चलायमान बनाउने गरि काम गर्न सुझाव दिनुभयो । सो अवसरमा महासंघका मनार्थ सदस्य कुश प्रसाद मल्लीले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
परिषद्मा वस्तुगत संघहरुबाट निर्वाचित भएर आउने कार्यकारिणी समिति सदस्यहरु स्वतः सदस्य हुन्छन् भने निर्वाचित सदस्यको पचास प्रतिशत सदस्य सम्बन्धित संघ सदस्य मध्येबाट मनोनित गर्ने व्यवस्था छ । साथै परिषद्मा आवश्यकता अनुसार आमन्त्रित सदस्य र सल्लाहकारहरु पनि मनोनित गरिन्छ ।
वस्तुगत परिषद्ले महासंघका सदस्य वस्तुगत संघहरु बीच आपसी समन्वय एवं समझदारी कायम गरी आफ्नो वर्गको उत्थान, विकासमा मुख्य भूमिका निर्वाह गर्दछ । साथै आफ्नो वर्ग र क्षेत्रसंग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्ने तथा त्यसबाट प्राप्त निश्कर्ष एवं सुझावहरु कार्यान्वयनका लागि महासंघ समक्ष पेश गर्ने कार्य गर्दछ । महासंघमा हाल विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने वस्तुगत सदस्य संघहरुको संख्या १ सय ४२ रहेको छ ।