Jul 17, 2026
निजी क्षेत्रलाई केवल औपचारिक सहभागिता वा साक्षीका रूपमा मात्र सीमित गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा महासंघ अध्यक्षको जोड (२०८३/०४/०१)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई केवल औपचारिक सहभागिता वा साक्षीका रूपमा मात्र सीमित गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले बिहीबार आयोजना गरेको “आन्तरिक श्रम बजार लक्षित कार्यस्थलमा आधारित तालिम, अप्रेन्टिससिप तथा व्यावसायिक एवं रोजगारमूलक सीप विकास” तालिम सम्बन्धी छलफल कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको तर्फबाट यस्तो धारणा राख्नुभएको हो । 

उहाँले यसको लागि सरकार र निजी क्षेत्रबीचको नीति संवादलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भयो । “ऐन तथा कानून संशोधनका क्रममा निजी क्षेत्रलाई पर्याप्त समय नदिई हतार–हतार सुझाव माग्ने प्रवृत्ति छ । कुनै पनि ऐन संशोधनअघि कम्तीमा एक महिनाको समय उपलब्ध गराई गृहकार्य, परामर्श र चरणबद्ध छलफलपछि मात्रै अन्तिम मस्यौदा तयार गर्नुपर्दछ ।” उहाँको धारणा थियो । उहाँलेले नेपालको श्रम बजार, सीप विकास प्रणाली र अप्रेन्टिससिप (कार्यस्थलमा आधारित तालिम) कार्यक्रमलाई उद्योगको वास्तविक आवश्यकतासँग जोडेर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले नेपालका उद्योग–व्यवसायहरू विगत लामो समयदेखि अनौपचारिक रूपमा तालिम केन्द्रका रूपमा सञ्चालन भइरहेको बताउनुभयो । उद्योगहरूले आफ्नै लगानीमा कामदारलाई दक्ष बनाउने गरे पनि सीप सिकेलगत्तै जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको उहाँको धारणा थियो । यस प्रवृत्तिले गर्दा उद्योगहरूको उत्पादकत्व, दक्ष जनशक्ति व्यवस्थापन र प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर परेको भन्दै उहाँले उद्योगमै आधारित ’वर्क–बेस्ड लर्निङ’  र अप्रेन्टिससिप प्रणालीलाई राष्ट्रिय प्राथमिकताका रूपमा संस्थागत गर्न माग गर्नुभयो ।

सरकारले सञ्चालन गर्दै आएका अधिकांश सीप विकास कार्यक्रमहरू श्रम बजारको वास्तविक मागभन्दा आपूर्तिमुखी भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । “उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुभन्दा तालिमको संख्या बढाउने प्रवृत्ति हावी भएको छ । कतिपय अवस्थामा एउटै व्यक्तिले पटक–पटक फरक तालिम लिने तर रोजगारीमा नजोडिने समस्या देखिएको छ । यो समस्याको हलका लागि सीप विकाससँग सम्बन्धित सबै कार्यक्रम, निकाय र स्रोतलाई एकीकृत गरी राष्ट्रिय श्रम बजार सूचना प्रणालीसँग आबद्ध गर्नुपर्दछ । ” उहाँले भन्नसभयो । 

अध्यक्ष श्रेष्ठले तालिमको योजना, पाठ्यक्रम विकास, प्रशिक्षार्थी छनोट, मूल्याङ्कन र रोजगारी व्यवस्थापनसम्मका सम्पूर्ण प्रक्रियामा निजी क्षेत्रको सक्रिय सहभागिता सुनिश्चित गर्दै मागमा आधारित सीप विकास प्रणाली लागू गर्न आग्रह गर्नुभयो  ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्यद्वय विदुषी राणा र अनुष्का श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न उक्त छलफल कार्यक्रममा महासंघका उपाध्यक्ष रोजगारदाता परिषद्का सभापति प्रवल जंग पाण्डे, उद्योग समिति सभापति उज्वल कुमार श्रेष्ठ र महिला उद्यमी विकास समिति सभापति सुनिता नेमाफुकीको समेत सहभागिता रहेको थियो ।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image