Jul 16, 2026
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) अन्तर्गत निजी क्षेत्रको श्रम तथा रोजगार सम्बन्धी नीति, सामाजिक संवाद र रोजगारदाता हितको प्रतिनिधित्व गर्ने प्रमुख संस्थागत संयन्त्रका रूपमा रहेको रोजगारदाता परिषदको गठन प्रक्रियाले आज पूर्णता पाएको छ ।
आज महासंघ सचिवालय, टेकुमा सम्पन्न परिषद्को पहिलो बैठकमा रोजगारदाता परिषदका सभापति श्री प्रबल जंग पाण्डेको सभापतित्वमा गठित परिषदका सदस्यहरूलाई महासंघका अध्यक्ष श्री अञ्जन श्रेष्ठले मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष श्री श्रेष्ठले श्रम तथा रोजगार क्षेत्रको सुधार, सुदृढीकरण तथा उद्योग–व्यवसायमैत्री श्रम सम्बन्ध स्थापना गर्न रोजगारदाता परिषदको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वर्तमान औद्योगिक श्रम सम्बन्ध विगतको तुलनामा थप सकारात्मक र सुमधुर बन्दै गएको उल्लेख गर्दै न्यूनतम पारिश्रमिकलाई क्षेत्रगत आधारमा निर्धारण गर्ने विषयमा मन्त्रालयस्तरमा छलफल भइरहेको जानकारी गराउनुभयो । यस सन्दर्भमा परिषदका सदस्यहरूले निजी क्षेत्रको साझा धारणा तयार गरी तथ्य, अध्ययन र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा प्रभावकारी नीति पैरवी गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।
अध्यक्ष श्रेष्ठले श्रम ऐन संशोधनको प्रक्रिया पनि अगाडि बढिरहेको सन्दर्भमा भविष्यको श्रम बजार, औद्योगिक आवश्यकता, लगानी प्रवर्द्धन, उत्पादकत्व वृद्धि तथा नेपालको प्रतिस्पर्धी अर्थतन्त्र निर्माणलाई मध्यनजर गर्दै महासंघको आधिकारिक धारणा विकास गरी सरकारसँग प्रभावकारी संवाद अघि बढाउन परिषदले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
बैठकले महासंघको विधान, २०४९ (सातौँ संशोधन) को दफा ४३.१ बमोजिम परिषदका निर्वाचित एसोसियट सदस्यहरूमध्येबाट एक जनालाई उपसभापतिमा मनोनयन गर्ने व्यवस्थाअनुसार श्री बाबुकाजी कार्कीलाई रोजगारदाता परिषदको उपसभापतिमा मनोनयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
त्यसैगरी, बैठकले परिषदको दीर्घकालीन रणनीति (२०२६–२०२९) निर्माण, वार्षिक कार्ययोजना तर्जुमा, श्रम तथा रोजगारसम्बन्धी नीति पैरवी, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) तथा अन्तर्राष्ट्रिय रोजगारदाता संगठन (IOE) सँगको सहकार्य, सामाजिक सुरक्षा, औद्योगिक सम्बन्ध सुदृढीकरण, श्रम विवाद न्यूनीकरण तथा महासंघको लैङ्गिक उत्तरदायी सदस्यता विस्तार रणनीति लगायतका विषयमा आगामी बैठकमा विस्तृत छलफल गर्ने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै रोजगारदाता परिषदका सभापति श्री प्रबल जंग पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघ नेपालको निजी क्षेत्रको आधिकारिक रोजगारदाता प्रतिनिधि संस्था भएकाले परिषदले सरकार, श्रमिक संगठन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको त्रिपक्षीय सामाजिक संवादलाई अझ प्रभावकारी, परिणाममुखी र विश्वासयोग्य बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले परिषदले उद्योग–व्यवसायमैत्री श्रम वातावरण निर्माण, लगानी र उद्यमशीलता प्रवर्द्धन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मकता अभिवृद्धि, मर्यादित रोजगारी सिर्जना, सामाजिक न्यायसहितको श्रम सम्बन्ध विकास तथा नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउन अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले रोजगारदाता परिषदलाई महासंघको नीति अनुसन्धान, प्रमाणमा आधारित पैरवी (Evidence-based Advocacy), श्रम कानुन सुधार, सीप विकास, अप्रेन्टिससिप, सामाजिक सुरक्षा तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डका विषयमा निजी क्षेत्रको साझा आवाजका रूपमा स्थापित गर्दै नेपालको आर्थिक समृद्धिमा योगदान पुर्याउने प्रभावकारी मञ्चका रूपमा विकास गरिने विश्वास व्यक्त गर्नुभयो ।