Jul 05, 2018
–नेपाली र चिनियाँ निजी क्षेत्र बीच भेटवार्ता– चीनको कुइचाओ प्रान्तबाट नेपालमा लगानी ल्याउने चिनियाँ लगानीकर्ताको प्रतिवद्धता (२०७५/०३/२१)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारी समक्ष चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष  चाङ चाओ (Mr. Zhang Zhao, Vice President of Guizhou Federation of Industry and Commerce) को नेतृत्वमा नेपाल भ्रमणमा आएको कुइचाओका २० सदस्यीय चिनियाँ उद्यमी व्यवसायीहरू बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो । उपाध्यक्ष चाङ चाओ अखिल चीन उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य (Executive Member of All China Federation of Industry and Commerce-ACFIC) पनि हुनुहुन्छ ।

नेपालमा चीनको कुइचाओ प्रान्तको लगानी भित्र्याउने सम्बन्धमा छलफल गर्न प्रतिनिधिमण्डल महासंघ सचिवालयमा आएको हो । उपाध्यक्ष चाङ चाओकै नेतृत्वमा एक महिना अघि आपसी सम्भाव्यताका विषयमा छलफल गर्न कुइचाओ प्रतिनिधिमण्डल महासंघ आएको थियो । महासंघ र उक्त प्रतिनिधिमण्डल बीच सम्पन्न भेटवार्तामा नेपालमा पूर्वाधार, सूचनाप्रविधि, पर्यटन, स्मार्ट सीटी, शहरी यातायात, जनशक्ति विकास तथा डेटा सेन्टर स्थापना लगायतका विषयमा बृहद छलफल भयो ।

 

सो अवसरमा चिनियाँ पक्षबाट कुइचाओ प्रान्तले गरेको विकासको अनुभव, उच्च प्रविधि तथा पूँजी मार्फत नेपालको विकासमा सहयोग गर्न तिव्र इच्छा व्यक्त गरियो । चिनियाँ एक्जीम बैंकको कुइचाओ शाखा नेपालको विकासमा लगानी गर्न इच्छुक रहेको समेत चिनियाँ पक्षबाट जानकारी दिइयो । भेटवार्तामा कुइचाओ विश्व विद्यालयका तर्फबाट नेपालको शैक्षिक विकासमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाइएको थियो । चिनियाँ प्रतिनिधिमण्डलमा इन्भेष्टमेन्ट, हाइवे, ट्रान्सपोर्ट, प्लानिङ, इनर्जी, टेलिकम्युनिकेशन, ग्याँस हिटिङ पावर डिजाइन, रेल्वे तथा युनिभर्सिटी लगायतका क्षेत्रको प्रतिनिधित्व रहेको थियो । प्रतिनिधिमण्डलका नेता एवं कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चाङ चाओले नेपालको विकासमा कुइचाओ प्रान्त सहयोग गर्न आतुर रहेको स्पष्ट पार्नुभयो । 

नेपालको विकास प्रयासलाई सहयोग गर्ने प्रतिवद्धताको प्रशंसा गर्नुहुदै अध्यक्ष राणाले नेपाल यतिखेर लगानीका लागि उपयुक्त स्थल भएको प्रष्ट पार्नुभयो । यहाँ लगानी, पूँजी प्रविधि भित्रयाउँदा तपाईहरूलाई आवश्यक सहयोग गर्न महासंघ तयार छ, उहाँले विश्वास दिलाउनु भयो । प्रधानमन्त्रीबाट हालै सम्पन्न चीनको औपचारिक भ्रमणका क्रममा आपसी हितका विषयमा निकै धेरै सहकार्यका लागि प्रतिबद्धता र सहयोग सम्बन्धी सम्झौता समेत भएकाले अव त्यसलाई सफल कार्यान्वयनमा लैजान जोड दिनु भयो । अध्यक्ष राणाले जनशक्ति विकास तथा महासंघमा डाटा सेन्टर स्थापनाका लागि प्रस्ताव राख्नु भयो । उर्जा, कृषि, पर्यटन, शिक्षा, पूर्वाधार(सडक, रेल, पुल, टनेल) लगायतका क्षेत्र नेपालका प्रमुख लगानीका क्षेत्र भएको कुरा सरकारले समेत किटान गरेको अध्यक्ष राणाले स्पष्ट पार्नुभयो ।  



महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको लागि आगामी दशक विकास दशकको रुपमा रहेकाले यहाँ रहेको प्रचुर सम्भाव्यताका क्षेत्रमा लगानी गरी फाइदा उठाउन चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ तपाईहरूलाई नेपालमा स्वागत गर्न आतुर छ, वरिष्ठ उपाध्यक्ष गोल्छाले भन्नु भयो– सरकार विदेशी लगानी आकर्षणका लागि आवश्यक नीतिगत सुधारमा क्रियाशिल रहेको र लगानीको वातावरण पनि अत्यन्त अनुकुल रहेको छ ।  

बैठकमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू प्रवलजंग पाण्डे, विनोद ढकाल, रविनकुमार श्रेष्ठ, महासंघका निमित्त महानिर्देशक गोपाल तिवारी, महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो  । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by