Oct 24, 2017
चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फीङ सिआओ (Mr. Feng XIAO, Department Director, China Water Engineering)को नेतृत्वमा आएको १२ सदस्यीय चिनियाँ लगानीकताहरूको प्रतिनिधिमण्डलसँग भएको छलफलमा महासंघका तर्फबाट नेपालमा लगानी गर्न आग्रह गरियो ।
नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरूले निकै धेरै लाभ हासिल गरिरहेका उदाहरण दिंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले चिनियाँ उद्यमीहरूलाई स्वागत गर्दै वाह्य लगानी तथा प्रविधि खोजिरहेको नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
लगानीका क्रममा कुनै पनि समस्या आएमा त्यसलाई समाधान गर्न महासंघ तयार छ, वरिष्ठ उपाध्यक्ष गोल्छाले अगाडी स्पष्ट पार्नुभयो–व्यवसायिक नाफा कमाउन सकिने मुलुकको रुपमा नेपाल स्थापित भैसकेको छ । चिनियाँ लगानीकर्ताहरूसँगको व्यसायिक भेटवार्ता (बी टु बी)बाट सकारात्मक कार्यको थालनी हुनुका साथै यसले दुबै देशलाई व्यवसायिक रुपमा अझ बढी प्रगाढ बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले वाह्य लगानी आकर्षणका लागि सरकारी नीति नियम उदार रहेको र नेपाल सरकार वाह्य लगानी आकर्षणका गर्न लालयित रहेकाले ढुक्क भएर लगानी गर्न सकिने विश्वास दिलाउनु भयो । लगानीका क्रममा स्थानीय तहमा कुनै समस्या आए त्यसलाई समाधान गर्न सरकार तथा निजी क्षेत्र दुवै तयार रहेको र पछिल्लो पटक अवलम्व गरिएका नीति नियमले समेत वातावरण अझ सहज बनाएको स्पष्ट पार्नुभयो ।
सो अवसरमा चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट चाइना वाटर इन्जिनियरिङ विभागका निर्देशक फीङ सिआओ (Mr. Feng XIAO, Department Director, China Water Engineering) ले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरू निकै इच्छुक रहेको र नेपालमा लगानीका क्षेत्र र सरकारी नीति नियमका वारेमा जानकारी लिन नेपाल भ्रमणमा आएको स्पष्ट पार्दै नेपाल सरकार र महासंघसँगको भेटवार्ता छलफल निकै उपलव्धी मुलक रहेको बताउनु भयो । टोलीका तर्फबाट परियोजना स्थापनाका क्रममा स्थानीय क्षेत्रमा आइपर्ने जग्गा प्राप्ति, वन लगायतमा आउने समस्या समाधानका विषयमा जिज्ञासा राखिएको थिए । साथै चिनियाँ प्रतिनिधिमण्डलले आगामी दिनमा अन्य क्षेत्रमा समेत लगानी गर्न आफूहरू इच्छुक रहेको धारणा राखेका थिए ।
सोही क्रममा दुवै देशका व्यवसायीहरू बीच क्षेत्रगत रुपमा छुट्टाछुट्टै व्यावसायिक भेटवार्ता समेत सम्पन्न भयो । होटल तथा पर्यटन व्यवसायीहरू, कृषी उपज बिक्रि वितरकहरू, सूचना तथा प्रविधि र विद्युत उर्जा एवं पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नेपालमा लगानीका अवसर, नीतिगत व्यवस्था, स्थानीय साझेदारको खोजी लगायतमा छलफल भएको थियो । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, महासंघका महासचिव, चीनसँग व्यापार व्यवसाय गर्दै आएका उद्यमी व्यवसायीहरूको समेत सहभागिता रहेको थियो ।