May 24, 2017
 महासंघ पदाधिकारीहरु र म्यानमारका लागि नवनियुक्त  नेपाली राजदुत बीच भेटवार्ता (२०७४/०२/१०)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारीहरु र म्यानमारका लागि नव नियुक्त नेपाली राजदुत भीम उदास बीच महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भयो । आफ्नो कार्यभार सम्हाल्न त्यसतर्फ जानु अघि महासंघका पदाधिकारीहरुसंग आज महासंघ सचिवालयमा आयोजित भेटवार्तामा नेपाल र म्यानमार बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार सहित विविध विषयमा छलफल भयो ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले नवनियुक्त राजदुत उदासको महासंघ सचिवालयमा स्वागत गर्नुहुदै आपसी आर्थिक सम्बन्धलाई थप मजवुद बनाउन आर्थिक कुटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने कुरामा जोड दिनु भयो । अध्यक्ष राणाले नेपाल म्यानमार बीच थुप्रै कुरामा समानता रहेकाले सहकार्यका पर्याप्त क्षेत्रहरु हुनसक्ने भन्दै नवनियुक्त राजदूत त्यहाँ रहँदा आर्थिक कुटनीतिका माध्यमबाट सम्भावनालाई यथार्थतामा रुपान्तरण गर्न महत्वपूर्ण पहल हुने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा भएको छलफलमा नेपाल म्यानमार बीचको व्यापार, लगानी, पर्यटन विस्तार, व्यवसायिक भ्रमणको आदान प्रदान लगायतमा जोड दिइयो । भेटवार्ताका क्रममा म्यानमारमा नेपाल प्रवद्र्धन गर्न स्थायी रुपमा “नेपाल हाउस” को स्थापना हुनुपर्ने, कल्चरल एक्सचेन्जका कार्यक्रमहरु, व्यापार मेलाहरुको आयोजना, सूचना तथा संचार प्रविधिका क्षेत्रमा सहकार्य, म्यानमारका पर्यटकहरुलाई नेपाल भ्रमणमा आकर्षण गर्न सहुलियत सहितका प्याकेज कार्यक्रमहरु बनाउनुपर्ने लगायतका विषयमा छलफल भयो ।

महासंघका उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, महासंघको निर्यात प्रवद्र्धन समितिका सभापति मनिषकुमार अग्रवाल, कार्यकारिणी समितिका सदस्यहरु जयप्रसाद शिवाकोटी, ई. बिनोद ढकाल र महासंघका महानिर्देशक सुरेश मान श्रेष्ठ उपस्थित रहनु भएको सो भेटवार्तामा राजदुत उदासले महासंघसंगको भेटवार्ता निकै महत्वपूर्ण रहेको बताउनु भयो । नेपाल र म्यानमार बीच धार्मिक, सामाजिक एवं सांस्कृतिक क्षेत्रमा निकै हदसम्म समानता रहेकोले आर्थिक/व्यवसायिक सम्बन्ध विस्तारमा आफूले सक्दो कार्य गर्ने विश्वास दिलाउंदै आफू निरन्तर महासंघसंग नजिकमा रहेर कार्य गर्ने समेत बताउनुभयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by