May 11, 2017
महासंघका अध्यक्षद्धारा सचिवालयका कर्मचारीहरुलाई संबोधन (२०७४/०१/२८)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री भवानी राणाबाट महासंघ सचिवालयका कर्मचारीहरुलाई आज संबोधन गर्नुभयो । महासंघ सचिवालयमा आयोजित कार्यक्रममा अध्यक्षले महासंघलाई प्रभावकारी ढंगबाट अगाडी बढाउन आफूले सचिवालयबाट ठूलो सहयोगको अपेक्षा गरेको बताउनु भयो । अध्यक्षले महासंघका सदस्यहरुले महासंघबाट निकै ठूलो सहयोगको अपेक्षा गरेको र मुलुकको आर्थिक विकासमा समेत महासंघको गहन भूमिका रहेकोले सोही अनुसार अगाडी बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

सचिवालयका दैनिक कामहरुलाई अझ बढी सुदृढ एवं सशक्त ढंगबाट आधुनिक तवरले अगाडि बढाउन महासंघका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । अध्यक्षले सचिवालयलाई चुस्त दुरुस्त रुपमा संचालन गर्न हालको प्रविधि प्रणालीलाई थप अद्यावधिक गर्ने योजना समेत रहेको जानकारी गराउनुभयो । 

सो अवसरमा महासंघका उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकालले महासंघको गरिमा अझ बढाउनका लागि कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । महासंघलाई आम्दानीका नयां–नयां स्रोतहरुको पहिचान गर्न समेत उपाध्यक्ष ढकालले जोडदिनुभयो । साथै उपाध्यक्ष ढकालले महासंघलाई के गर्दा अझ बढी प्रभावकारी ढंगले अगाडी बढाउन सकिन्छ सोको लागि कर्मचारीहरुबाट सल्लाह सुझावको अपेक्षा समेत आफूले गरेको बताउनुभयो ।

महासंघका निमित्त महानिर्देशक श्री मिना श्रेष्ठले संचालन गर्नुभएको बैठकमा कर्मचारीहरुले सचिवालय सुधारकालागि आवश्यक पहल कदमीका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by