Aug 19, 2026
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल र अमेरिकाबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन व्यापार, लगानी, प्रविधि र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल स्थित अमेरिकी दूतावासकी इकोनोमिक काउन्सलर जेहरा नक्वीसँग बुधबार महासंघ सचिवालय टेकुमा भएको भेटमा अध्यक्ष श्रेष्ठले अमेरिकालाई नेपालको महत्वपूर्ण विकास, व्यापार तथा लगानी साझेदारका रूपमा उल्लेख गर्दै आर्थिक विकासका लागि निजी क्षेत्रलाई बलियो बनाउनुपर्ने बताउनुभयो । निजी क्षेत्रलाई नीति निर्माणमा केवल दर्शक नभई आर्थिक विकास र राष्ट्र निर्माणको साझेदारका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप गतिशील बनाउन सरकार, निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताउँदै महासंघले अमेरिकी दूतावाससँग मिलेर व्यापार तथा लगानी प्रवद्र्धनका व्यावहारिक कार्यक्रम अघि बढाउन तयार रहेको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने चरणमा रहेको अवस्थामा निर्यात बढाउने, गुणस्तरीय विदेशी लगानी भित्र्याउने र स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्ने अवस्था रहेको जानकारी दिनुभयो । साथै अध्यक्ष श्रेष्ठले यो विषय नेपालका लागि अवसर र चुनौती दुवै रहेको बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले नेपालमा अमेरिकी लगानीका लागि जलविद्युत तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा डिजिटल सेवा, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि प्रशोधन र उच्च मूल्यका उत्पादनमूलक क्षेत्रमा महत्वपूर्ण सम्भावना रहेको बताउँदै नेपाल–अमेरिका व्यापार तथा लगानीसम्बन्धी संयन्त्रलाई थप सक्रिय बनाउँदै निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा अमेरिकी दूतावासकी इकोनोमिक काउन्सलर जेहरा नक्वीले पनि नेपाल–अमेरिका व्यापार तथा लगानी सहकार्य विस्तार, आर्थिक स्थायित्व र लगानीमैत्री वातावरण निर्माणको महत्वमा जोड दिनुभएको थियो । उहाँले दुई देशका बीच सहकार्य बढाउँदै व्यापार तथा लगानीका नयाँ अवसर पहिचान गर्नुपर्ने धारणा राख्नुभएको थियो । साथै उहाँले नेपालमा राजनतिक र नीतिगत स्थायित्व र लगानीको सुरक्षाको प्रत्याभूती भए प्रत्यक्ष वैदेशिक लगानी भित्रिने तर त्यसका लागि पहिले नेपालकै आनतरिक लगानीकर्तामा त्यो आत्मविश्वास आउनु पर्ने धारणा राख्नु भयो ।
महासंघले अमेरिकी व्यवसायी, लगानीकर्ता तथा प्रविधि साझेदारसँग नेपाली व्यवसायीको प्रत्यक्ष सम्पर्क बढाउन व्यवसायिक संवाद, लगानी प्रवद्र्धन कार्यक्रम र क्षेत्रगत बैठक आयोजना गर्न तयार रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँले सूचना प्रविधि र डिजिटल सेवामा नेपालको सम्भावना उच्च रहेको उल्लेख गर्दै अमेरिकी कम्पनीसँग सहकार्य गरी नेपाली व्यवसायलाई विश्वव्यापी मूल्य शृंखलासँग जोड्न सकिने बताउनुभयो । युवालाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमी बनाउने वातावरण आवश्यक रहेको उहाँको भनाइ थियो ।