Aug 14, 2026
मन्थलीमा डेंगी रोग नियन्त्रणका लागि सचेतना तथा लार्भा खोजी–नष्ट अभियान - निजी क्षेत्र संघकाे स्वास्थ्य क्षेत्रमा समन्वय तथा सहकार्य

रामेछाप, साउन २९

डेंगी रोगको संक्रमण नियन्त्रण तथा रोकथामका लागि रामेछापको मन्थलीमा सचेतना तथा लार्भा खोजी–नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ।

जनस्वास्थ्य कार्यालय रामेछापको आयोजना, मन्थली नगरपालिका कार्यालयको समन्वय तथा रामेछाप उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस शाखा रामेछापको सहयोगमा शुक्रबार अभियान सञ्चालन गरिएको हो।

अभियान मन्थलीस्थित देवकोटा चोकबाट सुरु भई विपी चोक, मदन–आश्रित चोक, रणजोर पुल हुँदै देवकोटा चोकमुनिका बस्ती तथा बजार क्षेत्रबाट जिल्ला समन्वय समिति परिसरमा पुगेर समापन गरिएको थियो। अभियानका क्रममा सम्भावित डेंगी फैलाउने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्नुका साथै स्थानीयवासीलाई डेंगी रोगबाट बच्ने उपायबारे सचेत गराइएको थियो।

अभियानको समापन कार्यक्रममा मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. केशव धामीले डेंगी रोग, यसको संक्रमण, लक्षण तथा रोकथामका उपायबारे जानकारी गराउनुभएको थियो। उहाँले डेंगी नियन्त्रणका लागि घर, कार्यालय तथा सार्वजनिक स्थान वरपर पानी जम्न नदिने, लामखुट्टेको सम्भावित प्रजननस्थल नष्ट गर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

डा. धामीले अभियानमा सहभागी सुरक्षा निकाय, मन्थली नगरपालिका स्वास्थ्य संस्था, सञ्चारकर्मी, रामेछाप उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सासाईटी शाखा रामेछाप, मन्थली स्थित टाेल सुधार समिति लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

डेंगी नियन्त्रणका लागि सरकारी निकायको प्रयाससँगै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै अभियानलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
 
 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image