Jul 30, 2026
२०८३-०४-१४
हालै देशका विभिन्न जिल्लाहरू, विशेष गरी तराई–मधेश क्षेत्रमा देखिएको तनावपूर्ण अवस्था, हिंसात्मक घटना तथा साम्प्रदायिक सद्भावमा असर पुग्ने गतिविधिप्रति चितवन उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ। यस क्रममा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति संघ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र हो। यही विविधताबीचको आपसी सम्मान, सहिष्णुता, सद्भाव र एकता नै हाम्रो सामाजिक तथा आर्थिक समृद्धिको आधार हो। कुनै पनि प्रकारका हिंसा, द्वेष, उत्तेजना, अफवाह तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिले मुलुकको शान्ति, सामाजिक एकता, उद्योग, व्यापार, पर्यटन, लगानी र समग्र आर्थिक गतिविधिमा प्रतिकूल प्रभाव पार्ने भएकाले यस्ता गतिविधि तत्काल रोकिन आवश्यक रहेको संघको ठहर छ।
चितवन उद्योग वाणिज्य संघ सबै प्रकारका समस्याको समाधान संविधान, कानुन र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप शान्तिपूर्ण संवाद, सहकार्य र आपसी समझदारीबाट मात्र सम्भव हुने विश्वास व्यक्त गर्दछ। साथै, नेपाल सरकार र सम्बन्धित निकायलाई नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव कायम राख्न तथा शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन प्रभावकारी कदम चाल्न आग्रह गर्दछ।
संघ सम्पूर्ण उद्योगी, व्यवसायी, नागरिक समाज, राजनीतिक दल, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा आम नागरिकलाई संयमित रहन, कुनै पनि किसिमका अफवाह वा भ्रामक सूचनाको पछि नलाग्न तथा सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्ति कायम राख्न सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछ। साथै, धैर्य र संयमित भई व्यापार–व्यवसाय सहज रूपमा सञ्चालन गर्न र आपसी समझदारी कायम गर्न समस्त उद्योगी–व्यवसायीलाई समेत संघ हार्दिक अनुरोध गर्दछ।