Jul 28, 2026
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी मञ्च (एनवाइइएफ) रुपन्देहीबीच नवउद्यमीको प्रवर्द्धन, उद्यमशीलताको विकास तथा व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
संघको सचिवालयमा आयोजित कार्यक्रममा युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई दिँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले उद्योगी–व्यवसायीका साझा समस्या समाधानका लागि सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताए ।
अध्यक्ष अर्यालले बुटवल उद्योग वाणिज्य संघले स्थानीय आर्थिक विकास, उद्योग–व्यवसायको प्रवर्द्धन तथा निजी क्षेत्रको सशक्तीकरणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नवउद्यमीलाई प्रोत्साहन गर्ने अभियानमा युवा उद्यमी मञ्चसँग आवश्यक सहकार्य गर्न संघ प्रतिबद्ध रहेको बताए । उनले उद्यमशीलता विकास, व्यवसाय विस्तार तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू संयुक्त रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष अनिस कसौधनले युवा उद्यमशीलताको विकास र नयाँ व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्च स्थापना भएको जानकारी दिँदै संस्थाले विगतदेखि नै त्यसअनुरूपका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
उनले आगामी कार्यकालका लागि तय गरिएका कार्यक्रमका बारेमा जानकारी गराउँदै युवा उद्यमी समिटको निरन्तर आयोजना, डिजिटल मार्केटिङ तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित क्षमता अभिवृद्धि तालिम, उद्योग–व्यवसायमा प्रिभिलेज कार्ड सञ्चालन, कक्षा ८, ९ र १० का विद्यार्थी लक्षित ‘युथ इङ्गेजमेन्ट’ कार्यक्रम तथा स्टार्टअप संस्कृतिको प्रवर्द्धन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
अध्यक्ष कसौधनले युवा उद्यमी मञ्च बुटवल उद्योग वाणिज्य संघको भगिनी संस्था भएकाले संघको अभिभावकत्व र निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले संघले सञ्चालन गर्दै आएको बिजनेस इन्क्युबेसन तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी कार्यक्रममा सहकार्य गराएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि संयुक्त कार्यक्रम मार्फत युवा उद्यमीलाई थप अवसर सिर्जना गर्न आग्रह गरे ।
छलफलमा दुवै संस्थाका पदाधिकारीहरूले उद्यमशीलता विकास, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन तथा युवा व्यवसायीको क्षमता अभिवृद्धिका क्षेत्रमा संयुक्त पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, सचिव प्रतीक पोखरेल, सहकोषाध्यक्ष धनकला खनाल कार्यसमितिका सदस्यहरु र युवा उद्यमी मञ्चका पदाधिकारी कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।