Jul 10, 2026
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले संयुक्त अरब इमिरेट्स (यूएई) लाई नेपालको उत्पादन, लगानी र उच्च मूल्यका निर्यात प्रवर्द्धनमा दीर्घकालीन साझेदार बन्न आग्रह गर्नु भएको छ ।
नेपाल स्थित संयुक्त अरब इमिरेट्स (यूएई) को दूतावासले काठमाडौंमा आयोजना गरेको ‘लगानीका अवसर सम्बन्धी आर्थिक प्रवद्र्धन तथा अन्तरक्रिया’ मा बोल्दै उहाँले यो विषयमा जोड दिनुभएको हो । यूएईका विदेश व्यापार मन्त्री डा. थानी अहमद अल जेयुदी र नेपालका लागि युएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सी सहितको टोलीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले नेपाल र युएई बीचको आर्थिक सम्बन्धलाई नयाँ ढंगले पुनः परिभाषित गर्नुपर्नेमा जोड दिनु भयो ।
अध्यक्ष श्रेष्ठले परम्परागत श्रम र रेमिट्यान्समा आधारित निर्भरताबाट उच्च मूल्यका वस्तुको निर्यात, संयुक्त उत्पादन र रणनीतिक लगानीतर्फ अघि बढ्न आह्वान गर्नुभयो । ‘युएईले नेपाललाई केवल श्रम साझेदारका रूपमा मात्र नहेरी व्यापार र पूँजीका लागि एक उदीयमान गन्तव्यका रूपमा हेर्नुपर्दछ । उहाँले भन्नुभयो, निजी क्षेत्र आगामी दशकलाई विगतको तुलनामा थप परिणाममुखी बनाउन दृढ रहेको छ ।’
चालु आर्थिक वर्षमा युएईतर्फ नेपालको निर्यात २.२ अर्ब रुपैयाँभन्दा बढी मात्र रहेको अवस्थामा आयात भने २५.३ अर्ब रुपैयाँभन्दा बढी रहेको उल्लेख गर्दै उहाँले यस खाडलभित्रै नेपाललाई विश्वव्यापी मूल्य श्रृंखलामा माथि उठाउने वास्तविक अवसर रहेको स्पष्ट पार्नुभयो ।
नेपाली निजी क्षेत्रले कच्चा पदार्थको सट्टा नेपालमा बुनिएका गलैँचा, चाँदीका गहना, पस्मिना, अर्गानिक कफी, अलैँची, र हिमाली मह जस्ता उच्च मूल्यका ब्रान्डेड वस्तुहरूको निर्यातमा जोड दिएको छ ।
महासंघले युएईसँग संयुक्त ब्रान्डिङ, प्रमाणीकरण र प्याकेजिङ मार्फत मूल्य अभिवृद्धि गर्न र युएईको विश्वस्तरीय डेलिभरी तथा पुनर्निर्यात प्लेटफर्मको प्रयोग गरी खाडी र विश्व बजारमा पहुँच बनाउनसहकार्यको प्रस्ताव गरेको छ ।
नेपाल अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने तयारीमा रहेको सन्दर्भमा उत्पादनशील र निर्यातमुखी क्षमता बढाउनु राष्ट्रिय आर्थिक आवश्यकता बनेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले यस पृष्ठभूमिमा युएईका वित्तीय संस्थाहरू र प्रमुख व्यावसायिक समूहहरूलाई नेपालको प्रचुर स्वच्छ ऊर्जा र प्रतिस्पर्धी श्रमशक्तिको उपयोग गर्न प्रत्यक्ष लगानीका लागि आमन्त्रण गर्नुभयो ।
‘नेपालमा लगानीका लागि जलविद्युत, आधुनिक पूर्वाधार, र खाडीका पर्यटकहरूलाई लक्षित गरी लक्जरी होटल तथा साहसिक पर्यटन जस्ता क्षेत्रहरूलाई मुख्य प्राथमिकतामा राखिएको छ । उहाँले भन्नुभयो, यसका साथै, खाद्य सुरक्षालाई रणनीतिक राष्ट्रिय लक्ष्य बनाएको युएईका लागि नेपालको कृषियोग्य भूमि, कृषि–प्रशोधन, कोल्ड चेन र सम्झौता खेती (कन्ट्र्याक्ट फार्मिङ) अवसर हुन सक्दछ, यसमा लगानी गर्न सकिन्छ । ’
अध्यक्ष श्रेष्ठले लगानीकर्ताका लागि भरपर्दो र सुरक्षित वातावरण बनाउन महासंघले नेपाल सरकारसँग मिलेर नीतिगत सुधार र प्रक्रियागत सरलीकरणमा निरन्तर काम गरिरहेको जानकारी दिनुभयो । महासंघले दुबई चेम्बर्ससँगको निरन्तर सहकार्य र हालै अजमान चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग सूचना प्रविधि, कृषि र वित्तीय सेवाका क्षेत्रमा भएको छलफललाई सकारात्मक कदमका रूपमा उल्लेख गरेको छ ।
आपसी विश्वास भएका राष्ट्रहरूबीचको गतिशील साझेदारीबाट मात्रै दिगो समृद्धि सम्भव हुने बताउँदै अध्यक्ष श्रेष्ठले युएईका लगानीकर्ताहरूलाई साझा उत्पादन र नवीनतामा आधारित सन्तुलित साझेदारी निर्माणका लागि नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।