Jun 14, 2026
चितवनमा नेपाल सरकारको आ.व २०८३–८४ बजेट सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

चितवन, जेठ ३१ गते
चितवन उद्योग वाणिज्य संघको आयोजना तथा GIZ-RSRSD को सहयोगमा आज चितवनको दासढुङ्गास्थित अशोका रिसोर्टमा नेपाल सरकारको बजेट २०८३–८४ सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारद्वारा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको नयाँ बजेटका नीति, कार्यक्रम तथा व्यवस्थापनबारे निजी क्षेत्र र सरोकारवालाहरूलाई स्पष्ट जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बजेट भाषणका मुख्य बुँदाहरू, आयकरमा दिइएको छुट र सुविधाहरू, मूल्य अभिवृद्धि कर (मूअकर) तथा अन्तःशुल्कमा गरिएका परिवर्तनहरू र नयाँ आर्थिक नीति एवं व्यावसायिक सुविधाहरूका बारेमा विस्तृत छलफल भएको थियो । कार्यक्रममा सहभागिहरुले बजेटले ल्याएका राहतका प्याकेज, कर छुटका क्षेत्रहरु लगायत बजेटको कार्यान्वयन सम्बन्धी जिज्ञासा राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले नयाँ बजेटले निजी क्षेत्रलाई समेट्न खोजे पनि कार्यान्वयनको पक्ष जहिले पनि चुनौतीपूर्ण रहने गरेको बताउँदै आयकरमा दिइएको छुट र व्यावसायिक सुविधाहरूको पूर्ण उपयोग गर्नका लागि व्यवसायीहरू सचेत र स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले यस कार्यक्रमले चितवनका उद्योगी व्यवसायीहरूको अन्योल चिर्न मद्दत पुर्याउने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवम् चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले यस पटकको बजेटमा मूल्य अभिवृद्धि कर  र अन्तःशुल्कमा केही परिमार्जनहरू भएको बताउँदै उहाँले यी परिवर्तनहरूले बजारको मूल्य र राजस्व प्रशासनमा पार्ने प्रभावबारे व्यवसायीहरूले कानुनी र व्यावहारिक रूपमै बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले कर छुटका सुविधाहरूको सही सदुपयोगले मात्रै व्यवसायको लागत घटाउन सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका बजेटको संक्षिप्त जानकारी गराउँदै उहाँले कुनै पनि देशको आर्थिक मेरुदण्ड भनेको त्यहाँको निजी क्षेत्र र उद्यमशीलता भएको बताउँनुभयो । उहाँले सरकारले ल्याउने बजेट केवल अंकहरूको सङ्गालो मात्र नभई यसले आगामी वर्षभरि हाम्रो व्यवसाय कुन दिशामा अघि बढ्छ भन्ने कुराको मार्गचित्र गर्ने माध्यम भएको बताउनुभयो । उहाँले व्यवसायिक विकासका लागि बजेटका नीति र व्यवस्थाहरूलाई मसिनो गरी बुझ्न र आफ्ना व्यवसायमा लागू गर्न  अपरिहार्य रहेको बताउँनुभयो ।

कार्यक्रममा बोल्दै GIZ-RSRSD का फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविनलाल श्रेष्ठले निजी क्षेत्रको सुदृढीकरण र आर्थिक विकासका लागि नीतिगत स्पष्टता आवश्यक रहेको बताउँदै उहाँले आगामी बजेटका नयाँ आर्थिक नीतिहरूले साना तथा मझौला उद्योगहरूलाई कसरी प्रवद्र्धन गर्न सक्छन् भन्ने विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रमका लागि चितवन उद्योग वाणिज्य संघसँग सहकार्य गरेका बताउँनु भयो ।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भरतुरका कर अधिकृत तुलसी चौधरीले बजेट भाषणले आयकरमा दिएका छुट, सुविधाहरू तथा मूल्य अभिवृद्धि कर (मूअकर) र अन्तःशुल्कमा गरेका परिवर्तनहरूका बारेमा जानकारी गराउनुभयो । उहाँले व्यवसायिक सहजिकरणका लागि आन्तरिक राजस्व कार्यालय सधै तयार रहेको बताउँनुभयो ।

कार्यक्रममा  धन्यबाद ज्ञापन सहित समापन गर्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसाय सञ्चालन गरिरहेका हामी जस्ता उद्यमीहरूका लागि बजेटका प्राविधिक कुराहरू बुझ्न यस कार्यक्रमले मद्दत गरेको विश्वास व्यक्त गर्नुभयो ।

चितवन उद्योग वाणिज्य संघले प्रत्येक वर्ष बजेट आउनु पूर्व सुझाब पठाउने र बजेट पश्चात बजेटको समिक्षा र अन्तरक्रिया कार्यक्रम आयोजना गरी पुन सुझाब पठाउदै आएको छ र यस वर्ष पनी सोही अनुसार कार्यक्रम आयोजना गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले जानकारी गराउनु भयो ।

अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको चितवन उद्योग वाणिज्य संघका राजस्व सल्लाहकार सिए विमान कार्की, सिए विशाल भट्टराइ र सिए विकास तिवारीले मध्यस्तता गर्नु भएकोे थियो ।

कार्यक्रममा संघका उपाध्यक्षत्रय नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर केसीलगायत संघका कार्यसमिति सदस्यहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरू, उद्योगी व्यवसायी गरी १४० जनाको सहभागिता रहेको थियो ।

 चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता सम्पन्न कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image