May 24, 2026
१० जेठ भरतपुर
चितवन उद्योग वाणिज्य संघले आज संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी चितवन जिल्ला प्रहरी प्रमुखज्यूलाई स्वागत गरेको छ । चितवन जिल्लाका लागि नवआगन्तुक प्रहरी प्रमुखको रूपमा आउनुभएका प्रहरी उपरीक्षक रामेश्वर पौडेललाई संघमा स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा मन्तव्य व्यक्त गदै संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले संघको बारेमा विस्तृत जानकारी गराउँदै उहाँले विगत लामो समयदेखि उद्यमी एवम् व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले चितवनको व्यवसायिक विकासका लागि सुरक्षा महत्वपूर्ण एवम् अपरिहार्य रहेको बताउँदै जिल्ला प्रहरी कार्यालयले चाल्ने सकरात्मक कदममा चितवन उद्योग वाणिज्य संघको पूर्ण सहयोग रहने जनाउँदै चितवन बसाइको पूर्ण सफलताको कामनासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले निजी क्षेत्र र व्यवसायिक संस्थाहरु देशको आर्थिक मेरुदण्ड भएको र शान्ति सुरक्षा बिना आर्थिक समृद्धिको परिकल्पना गर्न नसकिने बताउनुभयो । उहाँले चितवन जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर बाँकी नराख्ने बताउँदै शान्ति सुरक्षा र व्यवस्थापनमा उद्योगी, व्यवसायीहरूकोतर्फबाट पनि सहकार्यको अपेक्षा राखेको बताउनुभयो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य सुमनकुमार श्रेष्ठले प्रहरी एक्लैले समाजलाई सुरक्षित राख्न नसक्ने बताउँदै उहाँले व्यवसायीहरु पनी आफ्नो सुरक्षाको लागि आफै सचेत हुनका लागि अनुरोध गर्दै व्यवसायीहरुलाई सिसि क्यामेरा पसल भित्र मात्र जडान नगरी बाहिर बाटो तिर समेत जडानका लागि अनुरोध गर्नुभयो । उहाँले जिल्लाको शान्ति सुरक्षाको सवालमा संघ प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्ने जनाउँदै जिल्ला प्रहरी प्रमुखज्यूको चितवन बसाई सफल, उपलब्धिमूलक र ऐतिहासिक एवम् पूर्ण सफलताको कामनासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका उपाध्यक्षत्रय नारायण प्रधान, जनक पौडेल, राजन पिया, कार्यकारी निर्देशक निलबहादुर केसीलगायत संघका कार्यसमिति सदस्यहरू, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापनसहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।