Mar 20, 2026
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गैरआवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न आग्रह गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई शुक्रवार महासंघ सचिवालय, टेकूमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरूको पूँजी, सीप र अनुभवलाई नेपालको विकासमा लगाउनु पर्ने बताउनु भयो ।
उहाँले महासंघको पहलमा धेरै नीतिगत सुधारहरु भएकाले अब लगानीको लागि पनि सहज वातावरण बन्दै गएको धारणा राख्नुभयो । “महासंघले नीतिगत तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्ने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्ने तथा अन्य प्रक्रियागत सरलीकरणका विषयमा नेपाल सरकारसंग धेरै ठूलो लविङ गरेर थुप्रै नीतिगत सुधारहरु गरेका छौं । हामीले राम्रो सहकार्य गर्न सक्यौ भने नेपाल र नेपालीका लागि धेरै गर्न सक्छौं ।” उहाँले भन्नुभयो ।
अध्यक्ष ढकालले महासंघले पछिल्लो समय महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको र उक्त कम्पनी मार्फत ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने काम भइरहेको बताउँदै उहाँले एनआरएनएलाई कम्पनीमा लगानी गर्न तथा सम्भावित परियोजनाहरूमा सहलगानीका लागि पनि आग्रह गर्नुभयो ।
सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपालीहरुपनि नेपालको विकासमा साझेदार बन्न चाहेको धारणा राख्नु भयो । “विविध कारणले गैरआवासीय मुभमेन्ट कमजोर भएको अवस्था थियो । अहिले हामीले सर्वसम्मत रुपमा एकताको महाधिवेशन सम्पन्न गरेका छौं । नेपाली डायस्पोरा एक हुँदा त्यसले दिने सन्देश र नेपालमा गर्ने कामबारे थप स्पष्टता हुनेछ । हामी हाम्रो ज्ञान सीप र पूँजीलाई नेपालको विकासमा लगाउन सक्छौं भन्ने नै हाम्रो पनि जोड हो । ” उहाँले भन्नु भयो ।
सो अवसरमा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले देशको आर्थिक समृद्धिका लागि लगानी आवश्यक भएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा एनआरएनहरुले लगानी गर्न सक्ने धारणा राख्नु भयो ।
यस्तै महासंघका कोषाध्यक्ष भरतराज आचार्यले अन्य क्षेत्रको लगानीसंगसंगै नेपालमा नजेज इकोनोमिको क्षेत्रमा लगानी गर्न आग्रह गर्नु भयो ।
सो अवसरमा नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरू पर्यटन, ऊर्जा, पूर्वाधार विकास, यातायात, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका सम्भावनाबारे छलफल भएको थियो ।