Nov 26, 2025
नेपालमा पहिलो पटक ग्रीन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) को औपचारिक शुभारम्भ गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभीइटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरुको सहकार्यमा यो बोर्डको गठन गरिएको हो ।
बोर्डले नेपालमा हरित सीप सम्बन्धी सचेतना अभिवृद्घि गर्ने, वातावरण मैत्री तालिम नीति निर्माणका लागि संवाद गर्ने, तालिम प्रबर्द्धन र रोजगारीका अवसर सिर्जना गर्न ठोस कदम चाल्ने लक्ष्य राखेको छ । विशेष गरी दीगो कृषि, वातावरण मैत्री निर्माण, पर्यटन लगायतका क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने योजनासहित यस बोर्डको स्थापना गरिएको हो ।
बोर्डको शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वव्यापी रुपमा बढिरहेको तापक्रम, कार्बन उत्सर्जन तथा विभिन्न वातावरणीय प्रभावका कारण मानव स्वास्थ्य सहित समग्र विश्वमा गम्भीर नकारात्मक असरहरु देखापरेको सन्दर्भमा यो पहलले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताउनु भयो । उहाँले शिक्षालाई सीप र सीपलाई उत्पादन र उत्पादनलाई बजारसंग जोड्डै जानु पर्ने धारणा राख्नु भयो । “नेपाल सरकारले यस विषयमा नीतिगत सुधारमा काम गर्दै आइरहेको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा सुरु भएको यो परियोजनालाई मिलेर अगाडि बढाउनु पर्दछ ।” उहाँले भन्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन, कार्बन उत्सर्जन र वातावरणीय चुनौतीले हामीलाई नयाँ सोच, नयाँ सीप र नयाँ अभ्यासतर्फ अघि बढ्नु पर्ने बताउनु भयो । “हाम्रा उद्योग व्यवसायहरु पनि वातावरण मैत्री सीपको अबलम्बन गर्न तयार हुँदैछन । सीप विकासलाई वातावरणमैत्री बनाउनका लागि तालिम र रोजगारीमा योगदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार छ । उहाँले भन्नुभयो , जीसाबको माध्यमबाट सार्वजनिक–निजी साझेदारीलाई अझ मजबुत बनाउन सकिन्छ र नेपालको युवा शक्ति दिगो रोजगारतर्फ उन्मुख हुनेछ र भविष्यमा हरित अर्थतन्त्रको विकासलाई यो प्रयासले पक्कै पनि टेवा पुर्याउने छ ।”
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालले सन् २०४५ सम्ममा नेट जेरो कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्यलाई यो पहलले योगदान गर्ने बताउनु भयो । साथै उहाँले यस विषयमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने धारणा राख्नु भयो ।
सिटीइभिटीका सदस्य सचिव इन्जिनियर महेश भट्टराईले नेपाललाई हरित सीपको माग सम्बोधन गर्न साझेदारी विकास गर्ने र कार्बन न्यूट्रालिटी हासिल गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउन बोर्डले सहयोग गर्ने बताउनु भयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले वातावरण मैत्री सीपको विकास, प्रवर्द्धन तथा कार्यान्वनमा परिसंघ प्रतिबद्ध रहेको बताउनु भयो ।
नेपाल निर्माण व्यवसायी महासंघका रवी सिंहले वातावरण संरक्षण र हरित सीप आजको आवश्यकता भएपनि हरितको नाममा विकासलाई बाधा पार्न नहुने र दिगो विकासलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो ।
ग्रीन स्किल्स एडभाइजरी बोर्डका (जिसाब) सदस्य विनोद बडालले हरित सीप नेपालको भविष्यको आवश्यकता भएको र सरकार निजी क्षेत्रबीचको सहकार्यले यसलाई अघि बढाइने बताउनु भयो ।
सो अवसरमा जिस्याबका संयोजक प्रमोदभक्त आचार्यले हरित सीपको विविध विषय नेपालले गरिरहेका प्रयास आगामी कार्ययोजनाबारे प्रस्तुतिकरण दिनु भएको थियो । बोर्डमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र निर्माण व्यवसायी महासंघ नेपालको संस्थागत प्रतिनिधित्व रहेको छ ।
सन् २०२४ को अप्रीलमा ब्रिटिश काउन्सिलको पहलमा सम्पन्न भएको सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरुको सम्मेलनले नेपालमा हरित सीप प्रवर्द्धन गर्नको लागि बेलायतको नमूनाबाट प्रेरित भई एक उच्चस्तरीय संयन्त्र गठन गर्नु पर्ने निश्कर्ष निकालेको थियो ।
जीसाबलाई ब्रिटिश काउन्सिल नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ भने नेपाल उद्योग वाणिज्य महासंघले सचिवालयको भूमिका निर्वाह गर्दै सहयोग गरिरहेको छ । बेलायत स्थित एक्सटर कजेल लगायतका संस्थाहरुको हरित सीप सम्बन्धी अनुभव र सल्लाह मार्फत एडभाइजरी सहयोग प्रदान गरिरहेका छन् ।