Sep 05, 2025
पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा महासंघ अध्यक्ष ढकालको जोड  (२०८२/०५/२०)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ कास्कीको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन र व्यापार विस्तारमा नयाँ सम्भावना खोलेको बताउनु भयो । 

हाल पोखरा विमानस्थलबाट हिमालय एयरलाइन्सले हप्तामा एक दिन नियमित उडान गरिरहेको, सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडानको तयारी गरेको र भुटान एयरलाइन्सले चार्टर्ड उडानको योजना बनाएको सन्दर्भमा यसलाई नियमित गर्न सके पोखराको पर्यटन थप चलायमान हुने उहाँको धारणा थियो ।

पोखरा प्राकृतिक सौन्दर्यसँगै आर्थिक समृद्धिको विशाल सम्भावना बोकेको प्रदेश रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले कृषि, पर्यटन, जलविद्युत, सूचना प्रविधि, स्वास्थ्य र शिक्षालाई लगानी र उद्यमशीलताका लागि प्रमुख क्षेत्रको रूपमा पहिचान गरेर अघि बढनु पर्ने बताउनु भयो । 

करिब तीन दशकदेखि स्थानीय व्यवसायको संरक्षण, प्रवद्र्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा संघको योगदानको प्रशंसा गर्दै अध्यक्ष ढकालले लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायिक नीति निर्माण, साना तथा मझौला उद्यमको प्रोत्साहन र स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो । कृषि क्षेत्रमा पोखराको उर्वर भूमि र अनुकूल जलवायुले धान, मकै, तरकारी र फलफूल उत्पादनमा ठूलो सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले स्थानीय जैविक उत्पादनको ब्रान्डिङ र बजार विस्तारमा जोड दिनुभयो ।

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by